दाङ, जेठ ७ । बाँकेको बिकट मानिने नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोस्रो कार्यकालका लागि जनता समाजवादी पार्टी (जसपा) बिजयी भएको छ ।
गाउँपालिकाका अध्यक्षमा यसअघिका इश्तियाक अहमद साह र उपाध्यक्षमा जयन्तिदेवी श्रीवास्तव निर्वाचित भएका हुन । साह ५०३७ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
यहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसका रामचन्द्र मौर्यलाई अध्यक्षमा निर्वाचित साहले पराजित गरेका थिए ।
यसपाली काँग्रेसका मौंर्यले ३६८५ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा आएका नेकपा एमालेकी पदमावती यादवनीले ३१२२ मत प्राप्त गरेकी थिइन ।
जसपाका साह निकटतम प्रतिष्पर्धी काँग्रेसका मौर्य भन्दा १३५२ मतान्तरले बिजयी भएका हुन ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित श्रीवास्तवले कांग्रेसकी अतिकुन निशालाई २०७ मतान्तरले पराजित गरिन । श्रीवास्तवले ३८७९ मत प्राप्त गर्दा निशाले ३६७२ मत प्राप्त गरिन । त्यस्तै एमालेका पंचराम यादवले २८०४ मत मात्रै प्राप्त गरे ।
यहाँ काँग्रेसले तीन र जसपाले दुई वडा जितेको छ ।
काँग्रेसबाट नरैनापुर १ को वडाध्यक्षमा इसाक जोलाह, वडा नम्बर ४ मा मनोजकुमार शर्मा, वडा नं. ५ मा कृष्णचन्द्र मौर्य र वडा नम्बर ६ मा प्रेमचन्द्र मौर्य निर्वाचित भएका छन् ।
त्यस्तै जसपाबाट वडा नं. २ मा मसुद अहमद साह र वडा नं. ३ मा अजयकुमार मिश्र निर्वाचित भएका छन् ।
२०७४ सालमा नेपाली काँग्रेसले नरैनापुरका वडा नं. ३, ५ र ६ नम्बर वडाहरु जितेको थियो । बाँकी वडाहरु जसपाले जितेको थियो ।