तुलसीपुर, २० माघ ।
संघीय संसदका सभामुख कृष्णबहादुर महराले कर्मचारीेका बदमासीले गर्दा टरिगाउँ एयरपोर्टमा अस्थायी इन्धन डिपो आउन ढिलाइ भएको बताएका छन् । रिपोर्टर्स क्लव दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो बताए ।
इन्धन डिपो आउन ढिलाइ भएको भएपनि अब भने तत्काल ल्याउनका लागि पहल भइरहेको बताए । ‘अस्थायी ईन्धन डिपो ल्याउने भन्ने बिषयमा आयल निगमसँग मन्त्री र सचिवले तोक लगाईसक्नुभएको थियो’ महराले भने ‘तर कर्मचारीले त्यो फाईल गायब बनाएपछि ढिलाइ भएको हो ।’ तर पुनः ईन्धन डिपो ल्याउने प्रक्रिया शुरु भइसकेको महराले बताए । त्यस्तै उनले विमानस्थलमा टर्मिनल भवन निर्माणको पक्रिया पनि अघि बढिरहेको बताए । टर्मिनल भवनको सोमबार शिलान्यास गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।
फरक प्रसंगमा उनले चिकित्सा शिक्षा विधेयक प्रक्रिया पु¥याएर पारित भएको बताए । समितिमा छलफल गरेर प्रतिपक्षसँगको सहमतिमा विधेयक आएको उनले बताए । तर त्यही विषयमा सदन अवरुद्ध गर्नु गलत भएको उनको तर्क थियो । चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय नभएको भन्दै महराले विधेयक प्रक्रिया पु¥याएर पारित भएको दाबी गरे । कार्यक्रम रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको हो ।
पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ का सचिव जगप्रसाद शर्मा ‘अपार’, तुलसीपुरका अध्यक्ष खुशीराम चौधरी, नगर विकास समिति तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसी, घोराहीका अध्यक्ष बसन्त चौधरीलगायतको सहभागिता थियो ।