दाङ, बैशाख २० । बाँके प्रहरीले छिमेकी देश भारतबाट चोरी गरि ल्याएको अवस्थामा ६२ लाख बराबरका सुनका गरगहनासहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार पक्राउ पर्नेमा बझाङ जिल्लाको जय पृथ्बी नगरपालिका वडा नं. १ को पिमी कैशालका २८ बर्षीय अशोकबहादुर सिंह रहेका छन् ।
प्रहरीले सिंहलाई जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ एल गाउँ सुबेदी चोकबाट बैशाख १८ गते राति सवा ९ बजेतिर पक्राउ गरेको एसपी अधिकारीले सेतोपाटीलाई बताए ।
सिंहलाई इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
सिंहले बोकेको झोलामा हार, मंगल सुत्र, वाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासेलेट, कानपासा, औंठी, टप, फूली, पथ्थरका टुक्रा र माला लगाएका सुनका गरगहना बरामद भएको एसपी अधिकारीले जानकारी दिए ।
सिंहबाट बरामद भएका गरगहना तौल गर्दा ८०२ ग्राम ७३ मिली ग्राम पुगेको एसपी अधिकारीले बताए । जस्को हालको बजार मूल्य अन्दाजी ६२ लाख बराबर रहेको छ ।
एसपी अधिकारीका अनुसार सिंहसहित दुई जना नेपाली र दूई जना भारतीय नागरिक मिलेर बैशाख ४ गते भारतको ब्याङलोरस्थित सुनपसल बाट ती गरगहना चोरी भएको थियो ।
नचिने जानेको ब्यक्ति नयाँ ठाउँमा झोला बोकेर आएको देखेपछि प्रहरीले सोधपुछ गर्ने क्रममा शंका लागेर चेक जाँच गर्ने क्रममा तथ्य पत्ता लगाउन सफल भएको एसपी अधिकारीले बताए ।
हामीले इन्टरपोल, इण्डियन एम्बेसी र इण्डियन पुलिस मार्फत खबर पठाएको एसपी अधिकारीले जानकारी दिए ।