२०८३ असार २७ गते शनिवार

मेरो इच्छा त हैन,तर,परिस्थिति त्यस्तै आए पछाडि सर्दैन – गेहेन्द्र गिरी

तुलसीपुर, चैत २९ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आँफु तुलसीपुर उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने नबन्ने कुरा परिस्थितिमा निर्भिर हुने बताएका छन् ।


फरककोणसंगको कुरामा नेता गिरीले ब्यक्तिगत रुपमा मेयरको उम्मेदवार बन्ने आफ्नो इच्छा चाहाना नभएपनि आउने परिस्थितिले त्यस्को निर्धारण गर्ने तर्क गरे ।

‘मैले बारम्बार भन्दै आएको छु कि, मेयरमा मेरो इच्छा छैन,’ उनले अगाडि भने ‘ अब परिस्थिति त नलडी हुँदैन भन्ने आयो भने पछाडि सर्नेपनि कुरा हुँदैन।’ नेता गिरीले यसअघि सम्म आँफु आकाँक्षी नरहेको भन्दै अन्य आकाँँक्षीलाई फिल्डमा जान आग्रह गर्दैै आएका थिए ।


‘अहिले एकाएक आएर कतिपय नेताहरुले समेत अरु उठ्दा खिचलो उत्पन्न हुन्छ र त्यो खिचलो अन्त्यको लागि तपाँर्ई मेयरमा लड्नु पर्छ भन्न थाल्नु भएको छ,’ केन्द्रीय सदस्य गिरीले अगाडि भने ‘कतिपय आँकाक्षीले पनि हामी भन्दा सिनियर लिडर तपाँई नै फिल्डमा आए कुनै आपत्ति छैन भन्न थालेको अवस्था हो ।’


नेता गिरीले सबैको मनोभावना बुझेर मात्रै आँफूले निर्णय लिने स्पष्ट पारे । ‘तलदेखि माथिसम्मा सबै नेता कार्यकर्ताले लौ त नभइ हुँदैन भन्न थालेपछि बाध्यतात्मक परिस्थिति हुनसक्छ,’ गिरीले थपे ‘म त राजनीति गर्ने मान्छे हुँ र अरुको नाममा सहमति भएन, खिचलो भयो भने त्यतिखेर बाध्यतात्मक परिस्थिति आउन सक्छ।’


नेपाली काँग्रेसका अन्य अग्रज नेताहरुले पनि गेहेन्द्र गिरीको नाम आए कुनै आपत्ति नहुने प्रतिक्रिया दिए ।


केन्द्रीय सदस्य गिरीलाई मेयर बनाउन पाए संघीय निर्वाचनमा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी र प्रदेश निर्वाचनका लागि लुम्बिनी प्रदेश ग्रामिण तथा पर्यटन विकाश मन्त्री डिल्लीबहादुर चौधरीको बाटो किलियर हुने एक थरिको बुझाई छ ।


त्यसैले उनीहरु जस्ता नेताहरु पनि केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई मेयर बनाएर आफ्ना लागि अगाडिको सहज मार्ग र सहयोगी वातावरण निर्माण गर्ने उदेश्यमा रहेको स्रोत बताउँछ ।


‘संगठन निर्माणमा खट्ने गेहेन्द्र गिरी जस्ता नेतालाई काँग्रेसको जग मजबुत बनाउन प्रदेश भन्दा तुलसीपुरको मेयर हुनु नै उपयुक्त हुनेछ,’ एक नेताले भने ‘ भविश्यमा दीपक गिरी मान्ने हुने, डिल्ली चौधरीपनि मान्ने हुँदै गर्दा गेहेन्द्र गिरीलाई पनि ब्यबस्थापन गर्न जरुरी छ र त्यसका लागि पनि गेहेन्द्र गिरी उम्मेदवार बन्न आावश्यक छ ।’


गेहेन्द्र गिरी मेयरको उम्मेदवार बन्दा सबै भन्दा फाइदा दीपक गिरीलाई नै हुन्छ । आफ्ना टिमका चर्चित दुई युवा बिमल रिजार र सुरेश हमाल मध्य मेयरको टिकट कस्लाई दिने ? भन्ने अप्ठेरो परिस्थितिमा नेता गेहेन्द्र फेरि मेयरमा उम्मेदवार बने नेता दीपक गिरीले एउटै तिरले दुई वटा शिकार गर्ने परिस्थिति निर्माण हुन जानकारहरु बताउँछन् ।


एकातिर दीपकले आफ्नो टिमका युवालाई मैले त दिम्ला भनेकै थिए गेहेन्द्र दाइ आएपछि के गर्नु ? भनेर थामथुम पार्न सहज हुन्छ भने अर्कौ तर्फ आफ्नो भविश्यको बाटो सफाचट पार्न अबसर प्राप्त गर्ने छन् ।


अर्का एक नेताका अनुसार गेहेन्द्र गिरी फेरि मेयरमा उठ्न तम्सिनुको प्रमुख कारण यसपाली निर्वाचन सहजै जितिन्छ, भन्ने लागेर पनि हो । केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पनि आँफु उम्मेदवार बने यसपाली सहजै मेयर जितेर देखाउने दृढता ब्यक्त गरे ।


‘एकातिर पाँच दलिय गठबन्धन छ, पाँच जना संग एक्लै भिड्न संभव हुँदैन,’ ती नेताले भने ‘अर्कौ तर्फ अहिलेका मेयर घनश्याम पाण्डेले निर्वाचनका क्रममा बाँडेका आश्वासन अनुसार काम नगर्दा धेरै आलोचित छन् ।’


काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरी फेरि उम्मेदवार बन्ने गाँइगुँई चर्चा सुरु भएको तीन दिन भन्दा धेरै नभएपनि त्यो हल्लाले धेरै आकाँक्षीमा त्रास पसि सकेको छ ।


नेता गेहेन्द्र गिरी फेरि मेयरको उम्मेदवार बन्दा यसअघिका जिल्ला पार्टी सभापति कीर्तिबहादुर खड्का, पूर्व पार्टी सभापति घनश्याम रेग्मीजस्ता नेताहरुलाई कसरी ब्यबस्थापन गर्ने ? भन्ने चुनौति खडा हुन सक्ने कतिपयको बुझाई छ ।


‘संधै गेहेन्द्र गिरी मात्रै अबसर दिएपछि कतिपय नेताहरुमा नैरास्यता छाउन सक्छ,’ ती नेताले अगाडि भने ‘गेहेन्द्र गिरीमाथि पनि पदलोलुपको आरोप लाग्न सक्छ ।’


अर्कौ तर्फ युवा पुस्ता मध्य मेयरको आकाँक्षी रहेका चर्चित नामहरु बिमल रिजाल र सुरेश हमाल जस्ता युवाको चर्चा परिचर्चा छाइ सकेको छ ।


उनीहरुले भित्र भित्रै आफ्नो अभियानपनि थालि सकेका छन् । उनीहरुलाई कसरी शान्त पार्ने रु भन्ने सवालपनि उठ्न सक्ने एक युवा नेताले तर्क गरे ।


‘पहिला भरि म मेयरको आकाँक्षी हैन, तिमिहरु तयारी गर भनेर फिल्डमा पठाउने र अहिले सहजै जित्न सकिन्छ भन्ने लागेपछि त्यसैमा च्याँखे थाप्ने प्रबृति राम्रो होइन,’ ती युवा नेताले भने ‘अब फोटो मात्रै झुण्ड्याउन जाने हो भने केही छैन, हैन भने भिजन भएका र केही गर्न सक्ने समाजका लोकप्रिय युवाले टिकट पाउनु पर्छ ।’

काँग्रेस केन्द्रीय सदस्य गहेन्द्र गिरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि तुलसीपुरको मेयर पदमा भिडेका थिए । उनलाई नेकपा एमालेका घनश्याम पाण्डेले पराजित गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *