तुलसीपुर,चैत २६ । नेपालमा संविधान निर्माण भए पश्चात राष्ट्रपति,प्रधानन्याधिश, सभामुख,प्रदेश प्रमुख, मेयर जस्ता उच्च पदमा रहेर जिम्मेवारीपूर्वक महिलाले भूमिका निर्वाह गरिसकेका छन ।
उनीहरुले पु्रुषकोे तुलनामा उत्कृष्ट कार्यसम्पादन गरेको अवस्था पनि छ । जिम्मेवारी पाएपछि महिलाले आफ्नो क्षमतालाई प्रर्दशन गर्नका लागि कत्तिपनि कन्जुस्याइँ गर्दैनन् । तर महिलाले आफ्नो क्षमतालाई प्रर्दशन गर्ने अवसर नै पाउदैनन् ।
अझ राजनीतिको कुरामा महिलाले जिम्मेवारी पाउनै मुश्किल हुन्छ । सम्रगमा भन्ने हो भने राजनीतिमा महिला सहभागिता अत्यैन्त न्यून छ । अगुवा नेता कार्यकर्ताहरुले नै महिलालाई उच्च पदमा राख्न मान्दैनन् ।
२१ औं सताब्दीमा पनि महिलालाई दोश्रो दर्जामा राख्ने पितृसत्तामक सोचको अन्त्य हुन सकेको छैन । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउँदा गर्दा त्यस्तै आशंकाहरु उब्जिएका छन् ।
निर्वाचनमा अधिकांश महिला पालिका प्रमुख, वडाध्यक्ष बन्ने भन्दै पुरुषसगै घरदैलो कार्यक्रममा खटिएका छन । उनीहरुले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारी घोषणा पनि गरिसकेका छन ।
तर सत्तासिन दलहरु नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी सहितका अन्य पार्टीहरुले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर साझा उम्मेदवार बनाउने तयारी गरेपछि आकांक्षी महिला सहभागिता गुम्छ कि रु भनेर चिन्तित छन ।
गठबन्धनमा सहभागी दलहरूले स्थानीय निकायमा उम्मेदवारको भागबन्डा गर्दा प्रमुख र उपप्रमुख फरक–फरक दलको भागमा पर्ने यसअघिका गठबन्धनले प्रष्ट देखाएको छ ।
यस्तो अवस्थामा प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिँदा दलहरूको रोजाइमा पुरुष उम्मेदवार नै पर्न सक्ने तुलसीपुर उपमहानगरपालिकामा एक जना मेयरको आकांक्षी सुष्मा गिरीले चिन्ता ब्यक्त गरिन ।
नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि समेत रहेकी गिरीले स्थानीय निर्वाचनमा अधिकांश स्थानमा गठबन्धन भइरहँदा स्थानीय तहका प्रमुख र उपप्रमुखमा महिला प्रतिनिधित्व घट्ने आशंका ब्यक्त गरिन ।
‘राजनीतिक दलहरूले नेतृत्वदायी पदमा महिलाको संख्या बढाउनु जरुरी छ,’ गिरीले भनिन्,‘ पार्टीले टिकट दिए यस पटक प्रमुख भएर पालिका हाक्ने मेरो इच्छा छ ।’ उनले राजनीतिमा महिलालाई मुख्य पद दिन हुदैन भन्ने सोचको अन्त्य गर्दै सक्षम महिलापनि प्रमुख बन्न पाउनुपर्ने बताइन ।
‘हरेक क्षेत्रमा महिलालाई उपमा मात्र राख्ने पुरानो शैलीलाई बदल्न जरुरी छ,’ गिरीले अगाडि भनिन्,‘हामी पनि पुरुष सरह काम गर्न सक्छौँ,अवसर दिए महिलाले पनि देश हाक्न सक्छन ।’
२०७४ सालको स्थानीय तह निर्वाचनबाट तुलसीपुरको उपमेयरमा निर्वाचित माया शर्मा आचार्यको पनि यो टक मेयर बन्ने चाहना छ । नेकपा एमालेबाट निर्वाचित शर्माले पनि महिलालाई सधैभरी पार्टीका घोषणा पत्रमा मात्र सिमित नराखेर प्रमुख पदमा ल्याउन जरुरी ठान्छिन् ।
‘अब हामीले पनि प्रमुख बन्ने तयारीमा जुट्नु पर्छ,’ शर्माले भनिन्,‘ ५ वर्ष उपप्रमुख भएर काम गरेपछि अब स्वतः प्रमुखमै मेरो दावी छ । पहिले केही थाँहा नपाएरै पदमा पुगिएको थियो । अब स्थानीय तह संञ्चालन सम्बन्धी धेरै कुराहरूको जानकार भइएको छ । पार्टीले टिकट दिएमा प्रमुख भएर काम गर्ने इच्छा छ ।’
महिलालाई उपमै मात्र सिमित राख्ने प्रवृतिको अन्त्य गर्दै राजनीतिक दलहरूले महिलालाई प्रमुख पदमा उठाउन पहल गर्नुपर्ने घोराही उपमहागरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन ।
‘हामीले ५ वर्षसम्म धेरै अनुभव बटुलेका छौं अब प्रमुख भएर पुरुषले भन्दा राम्रो तरिकाले काम गर्न सक्ने भएको छौँ’ उनले भनिन,‘अब पार्टीले हाम्रो कामको मुल्याङ्कन गर्न जरुरी छ ।’ उनले पार्टीमा मात्र नभएर हरेक स्थानमा महिलालाई प्रमुख पद दिन नचाहने सोचले सधैभरी महिला पछाडि पारिने गरेको बताइन ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले मेयरको उम्मेदवार बन्ने इच्छा अनुसार तयारी गरिरहेको बताइन । यस अघि नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित बेल्बासे यसपटक मेयरको दावी गरेकी हुन ।
उनीपनि हरेक पार्टीले महिला–पुरुष नभनी समान रूपमा मुल्याङकन गर्नुपर्ने तर्क गर्छिन । ‘दलहरूको गठबन्धनले महिलालाई असर गर्छ भने अब कानुननै संशोधन गरेर जानुपर्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘त्यसो भएमा मात्रै सबै राजनीति दलका महिला नेतृत्वमा पुग्न सक्छन।’
उनले हिजो जसरी महिलालाई प्रमुख वा उपप्रमुख भनेर छुट्ट्याउन नहुने बताइन । दलीय गठबन्धनका कारण महिला सहभागीतामा कमी हुन नहुने उनले स्पष्ट पारिन ।
गठबन्धनका नाममा महिलाको अधिकार कटौति गर्न नहुने उनले बताइन । स्थानीय तहमा महिला उपस्थिति कम नहुने गरी उम्मेदवारीको व्यवस्था मिलाउन महिला नेतृ र सरोकारवाला सबैले दबाव सृजना गर्नुपर्ने उनको धारणा छ ।