रुकुम पश्चिम, फागुन २१ । नेपाली कांग्रेस रुकुम पश्चिमको तेस्रो पूर्ण बैठकले स्थानीय निर्वाचनमा सात जना जिल्ला नेतालाई खटाउने भएको छ ।
जिल्ला सभापति प्रेमप्रकाश ओलीको अध्यक्षतामा दुई दिनसम्म बसेको पूर्ण बैठकले जिल्लाका ६ वटै स्थानीय तहमा काँग्रेसलाई निर्वाचित गराउन नेता परिचालन गर्ने निर्णय गरेको हो ।
सात जना जिल्ला नेतासहित सबै भातृ संस्थाका प्रमुखलाई ६ वटै स्थानीय तहमा परिचालन गर्ने निर्णय भएको सभापति ओलीले जानकारी दिए ।
बैठकले फागुन २९ गतेदेखि मुसिकोटबाट ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्ने निर्णयसमेत गरेको छ । बैठकले पार्टी केन्द्रीय कार्यालयको समन्वयमा सबै भातृ संगठनहरुको अधिवेशन गर्ने निर्णयपनि गरेको छ ।
त्यस्तै पूर्ण बैठकले २५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरिएको छ ।
दैनिक कार्यसम्पादनलाई व्यवस्थित र सहज बनाउन कार्यसम्पादन समिति गठन गरेको हो ।