२०८१ असार ३० गते शनिवार

राजीनामा नदिने जनप्रतिनिधि उम्मेदवार हुन नपाउने

काठमाण्डौ,फागुन ५ । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् ।

स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

‘अहिलेका जनप्रतिनिधि पदमा बहाल भएको अवस्थामा मतदातालाई प्रभावित पार्न योजना र बजेटमा चलखेल गर्ने र अनि स्थानीय तहको शक्ति र पहुँचको पनि दुरुपयोग गर्ने जोखिम देखियो’ निर्वाचन आयोग उच्च स्रोतका अनुसार, ‘स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आचारसंहितामा समावेश गर्न खोजिएको हो ।’ आयोगले आन्तरिक रुपमा निर्माण गरिसकेको मस्यौदा केही दिनमा प्रमाणीकरण गर्ने तयारी छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ मा तीनवटै तहमध्ये कुनैको स्वामित्व, नियन्त्रण वा अनुदान पाउने गरी पदमा बहाल रहेको वा संस्थाबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको हो ।

आयोगका एक पदाधिकारीका अनुसार, जनप्रतिनिधिले उम्मेदवार दर्ताका क्रममा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणको रुपमा पेश गर्नुपर्नेछ ।

निर्वाचन आयोगले सुरु गरेको यस्तो मापदण्डले एकदेखि तीन सातासम्म स्थानीय तहका कतिपय पदहरू जनप्रतिनिधिविहीन हुने जोखिम बढ्छ । पदमा बहाल रहेका सबै जनप्रतिनिधिहरू फेरि दोहोर्‍याएर उम्मेदवार बन्न चाहेमा राजीनामाका कारण स्थानीय तह रिक्त नै हुन्छ ।

त्यसैले कतिपयले संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने परिकल्पना नगरेकाले उम्मेदवार बन्न बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधान अनुचित रहेको बताउँछन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *