
तुलसीपुर,माघ २५ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मुहान क्षेत्रमा चुनढुगां उत्खनन् गर्न नहुने निर्णय गरेको छ ।
सुनगाभा माईनेज प्रा.लि.ले मुहान क्षेत्रमा उत्खनन् अन्तिम तयारी थालेको सूचना पाएपछि खानेपानी संस्था र सरोकारवालाहरुले त्यसको बिरोध गरेका छन ।
सोमवार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना गरेको सर्वदलिय÷सर्वपक्षिय भेलामा सरोकारवालाहरुले तुलसीपुरलाई मरुभूमी हुनबाट रोक्न स्थानीय सरकार यस विषयमा गम्भिर बन्नुपर्ने बताएका थिए ।
राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं.३ र ४ का विभिन्न स्थानमा रहेका खानेपानीका मुहानलाई असर गर्ने गरी चुन ढुंगा उत्खनन् हुन लागेको भन्दै उक्त कार्यलाई हुन नदिन पुर्व तयारी गर्नुपर्ने बक्ताहरुको जोड थियो ।
तुलसीपुर खानेपानी संस्थाको मुहान क्षेत्रमा चुन ढुंगा उत्खनन्का लागि २०६९ साल भदौ १ गते खानेपानी विभागमा सुनगाभा माईनेज प्रा.लि. दर्ता भएको र संस्थाको मुहान क्षेत्रमा उत्खनन् कार्य सुरु गर्न अन्तिम तयारी गरेको बिभागबाट सूचना पाएपछि त्यसबारे छलफल गर्न सर्वदलिय÷सर्वपक्षिय भेलाको आयोजना गरिएको खानेपानी संस्थाका सचिव शेवकराम भण्डारीले जानकारी दिए ।
‘उक्त प्रा.ली.ले ०६९ सालदेखि नै यो प्रक्रिया सुरु गरेता पनि हालै मात्र आएर हामीले यो कुरा थाहा पायौं,’ उनले भने ‘प्रालीका व्यक्तिहरु दाङ, कपिलबस्तु, नारायणघाट र काठमाडौंसम्मका रहेको हामीलाई सूचना आएको छ।’
प्रालीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ र ४ को सीमानामा पर्ने साढे ९ किलोमिटर क्षेत्र उत्खनन्का लागि माग गरेको सूचना प्राप्त भएको भण्डारीले बताए ।
कार्यक्रममा तुलसीपुर ३ का वडा अध्यक्ष बिरबहादुर बिकले तुलसीपुरका केही व्यक्तिहरु वडा कार्यालयमा उत्खनन् सिफारिसका लागि आएपनि आँफुले नदिएको जनाकारी दिए ।
उनले भने‘ सिफारिस नदिएपछि वडा कार्यालय घेराऊ गर्ने, पटक–पटक फोन गर्ने, धम्की दिने गरिएपनि मैले भविष्य सोचेर सिफारिस नदिएको हो।’
उनले ०७४ सालदेखि निरन्तर ०७५÷ ०७६ सम्म सिफारिसका लागि ती व्यक्तिहरु वडा कार्यालयमा सिफारिसका लागि धाउँदै आएको जानकारी दिए ।
‘स्थानीय सरकार आउनु अगाबै चुन ढुगां उत्खननको प्रक्रिया सुरु गरेपनि हालसम्म यो कार्यको इआइए नै गरिएको छैन,’ उनले भने ,‘उपमहानगरपालिका र वडा कार्यालयले रोकेर नै हालसम्म यो कार्य अगाडि बढ्न सकेको छैन र भविस्यमा पनि यो रोक्न जरुरी छ ।’
तर, तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण रानाले भने हालसम्म आफ्नो कार्यालयमा चुनढुगां उत्खननका लागि कुनैपनि व्यक्ति सिफारिस माग्न नआएको बताए ।
अध्यक्ष रानाले पनि चुनढुंगा उत्खनन् गर्न दिने हो भने भविस्यमा तुलसीपुरमा पानीको चरम संकट उत्पन्न हुने भन्दै भूमाफियासगं लड्न सबै एकजुट हुन जरुरी रहेको तर्क गरे ।
उत्खनन् वडाका घोरानेटी, लामीदमार, तरुले लगायतका क्षेत्रको पानीको मुहान सुक्ने चिन्ता उनले जाहेर गरे ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष एमकान्त भण्डारीको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल, नेकपा एमालेका नगर सदस्य बर्षात भण्डारी, माओवादी केन्द्रका भिमबहादुर चौधरी,जनता समाजवादी पार्टीका जिवन भण्डारी, तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे, तुलसीपुर चेम्बर अफ कमर्षका अध्यक्ष टोपबहादुर घर्ती लगाएतले खानेपानीको मुहानमा चुनढुगां उत्खननको विषय आम जनतासंग जोडिएको विषय रहेको भन्दै सबैले त्यसको बिरोध गर्नुपर्ने बताएका छन ।
भेलामा तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई निम्त्याइएको भए पनि उनी भने गएनन् ।