काठमाण्डौ,माघ २३ । आज श्रीपञ्चमी, हरेक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्र लगायत साधनको पूजा गर्ने गरेका छन् ।
विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरिए पनि यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै सरस्वतीको पूजा आराधाना गरिँदै छ ।
काठमाण्डौ लाजिम्पाटको नील सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेमा रहेको सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ । यसवर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधाना गरिँदै छ ।
यस अवसरमा हुनुमान ढोकामा रहेको नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ । वसन्त श्रवणको लागि बिहान साढे १० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वसन्त श्रवणमा कवि जयदेवले रचना गर्नुभएको सरस्वती सम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए । यो पाठ १५ श्लोकको रहेको छ ।
आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छिन ।
यस्तै वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको बताइन ।
