तुलसीपुर, माघ ३ । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाले स्थानीय सडकको दुर्दशा सुधार र कोरोना भाइरसको खोप सर्वसुलभ रुपमा उपलब्ध गराउन माग गरेको छ ।
काँग्रेस उपमहानगरपालिकाका सभापति सुरेश हमाल, सचिव बिमल पौडेल र सुशील वली तथा प्रबक्ता पूर्णबहादुर डाँगीले सोमबार संयुक्त बिज्ञप्ति मार्फत कोरोना भाइरस महामारीको तेस्रो लहरको संक्रमणको दर दिनानुदिन बढ्दै गइरहेको भन्दै बिरामीको प्रभाबकारी परीक्षण र संक्रमितको उचित उपचारको ब्यबस्था मिलाउन माग गरिएको छ ।
त्यस्तै कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक खोप आम नागरिकको पहुँच हुने गरि समयमै उचित प्रबन्ध हुने गरि ब्यबस्थापन गर्न तुलसीपुर उपमहानगरपालिकाका संग माग गरिएको छ ।
त्यस्तै उनीहरुले तुलसीपुर बसपार्क जाने बाटोको अवस्थाले सर्वसाधारणलाई आवात जावातमा कठिनाई भएको भन्दै अबिलम्ब सडक निर्माणमा ध्यानदिन आग्रह गरेका छन् ।
तुलसीपुर बसपार्क जाने बाटोमा पिपलबोट नजिकै ह्यूमपाइप राख्ने कार्य भइरहेको छ । तर, त्यो कार्यमा ढिलाई हुँदा आवात जावातमा निकै कठिनाई भएको भन्दै काँग्रेस नगर कार्यसमितिले तुलसीपुर उपमहागनरपालिकाको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै तुलसीपुर– घोराही सडक खण्ड निर्माणको कार्य तीब्र रुपमा अगाडि नबढ्दा आम नागरिकले भोग्नु परेको दुःख, सास्ति मात्र नभइ संभावित दुर्घटनालाई मध्यनजर गर्दै सम्बन्धित सरोकारवालाहरुलाई तीब्र रुपमा निर्मांण काम अगाडि बढाउन माग गरिएको छ ।