२०८३ भाद्र १२ गते शुक्रवार

जहाँ छोरीहरु निशुल्क प्राविधिक विषय अध्ययन गर्छन …

तुलसीपुर, पुस २५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की पुजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसइई दिइन् ।
सानै उमेरमा बुबा गुमाएकी पुजालाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो । आर्थिक कारणले सोचेको कुरा पढ्न पाइदैनकी भन्ने चिन्ता बढ्दै गइरहेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाले छोरीलाई निशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएपछि मेरो प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ,’ पूजाले भनिन् ।
उनी अहिले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा फुड एण्ड डेरी पहिलो सेमेस्टरमा पढिरहेकी छिन् ।
तुलसीपुर कै वडा नम्बर ४ रक्षाचौरकी खुसी परियारको सानैदेखि कृषि विज्ञ वन्ने सपना थियो । उनको सपना पनि अहिले साकार भएको छ । ‘निशुल्क रुपमा आफुले चाहेको विषय पढ्न पाउँदा असाध्यै खुसी छु,’ उनले भनिन् ।

वालमितेरी मावि भोजपुरबाट एसइएई दिएकी अरुणा चौधरीको मेकानिकल इन्जिनियङि पढ्ने सपनापनि यतिवेला सार्थक भएको छ । ‘बाबा आमाले पढ्न सकिदैन भन्नु भएको थियो तर पूर्ण छात्रवृत्ति पाएपछि अहिले पढ्न सम्भव भएको छ,’ चौधरीले भनिन् ।

त्यस्तै तुलसीपुर ३ की आइसा ढकालको इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने सपना पनि सार्थक भएको छ । तीन वर्ष पढेर आत्मनिर्भर वन्न सकिन्छ भन्नेमा ढुक्क भएको उनले बताइन ।
यी केही प्रतिनिधि खुसी मात्रै हुन् । दर्जनौ छोरी यतिवेला प्राविधिक विषयको अध्ययन गरिरहेका छन् ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रकारुपमा विकाश गर्ने लक्ष्यका साथमा स्थानीय सरकारले शिक्षालयको स्थापना गरेको हो । शिक्षालयमा सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका पालिका भित्रका सबै छात्रालाई निशुल्क अध्यापन गराउँने गरिएको शिक्षालयका प्रमुख वसन्त आचार्यले जानकारी दिए । आचार्यका अनुसार निशुल्य पढ्ने सबै छात्राहरुको शुल्क भने पालिकाले तिर्ने गरेको छ ।

उपमहानगरपालिकाले छात्रवृत्ति दिएर अहिले एक सय छात्राले शिक्षालयमा विभिन्न प्राविधिक विषय अध्ययन गरिरहेको पनि आचार्यले वताए ।
सामुदायिकमा पढ्ने जुनकुनै छात्राले अध्ययन गर्न चाहेपनि पूर्ण छात्रवृत्ति दिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

उनले छात्रवृत्ति दिन थालेपछि प्राविधिक शिक्षा पढ्ने छात्राको संख्या बढेर गएको पनि बताए । छात्रवृत्ति दिनुभन्दा पहिले यहाँ प्राविधिक शिक्षा अध्ययन गर्ने छात्राको संख्या निकै न्युन रहेको प्रमुख भण्डारीले बताए ।
उनले सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रालाई निशुल्क प्राविधिक विषय अध्यापन गराउन थालेदेखि सामुदायिक विद्यालयमा छात्राको संख्या बढेर गएको उनले जानकारी दिए ।

छोरीले अरुको मुख ताक्नुपर्दैन ः नगरप्रमुख पाण्डे

नगरप्रमुख घनश्याम पाण्डेले छोरीले प्राविधिक शिक्षा अध्ययन गरेमा अरुको मुख ताक्नुनपर्ने बताएका छन् ।
नगरले छोरीलाई स्मार्ट वनाउनका लागि शिक्षामा जोड दिएको पनि बताए । छोरीलाई आत्मनिर्भर वनाउनका लागि मुख्य गरेर सीपमुलक शिक्षामा ध्यान दिइएको नगरप्रमुख पाण्डेले बताए ।

उनले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारकै पहलमा शिक्षालयको स्थापना गरेको बताए । पाण्डेले विभिन्न संघसंस्थासँग सहकार्य गरेर छोटो अवधिको तालिम समेत सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *