तुलसीपुर, पुस १६ । तुलसीपुर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार हुन गइ रहेको निर्वाचनमा नेपाली काँग्रेसका भित्र राजनीतिक चर्काचर्की सुरु भएको छ ।
निर्वाचनको पूर्व सन्ध्यामा दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र नं. ३ (क) का प्रदेश सभापति देबेन्द्र रिजाल र ३ (ख) का सभापति खिमबहादुर वली र तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालले संयुक्त बिज्ञप्ति मार्फत बागी उम्मेदवारलाई कारबाहीको माग गरेका छन् ।
नेपाली काँग्रेसको बिधान र अनुशासन भन्दा बाहिर गएर पार्टीको हित बिपरित कार्य गरेको भन्दै उनीहरुले अध्यक्षमा उम्मेवारी दिने काँग्रेस वडा क्षेत्रीय प्रतिनिधि पवनराज बुढाथोकीसहित तीन जनालाई पार्टीको साधारण सदस्यता समेत खारेज गर्दै पार्टीको कुनैपनि पदमा समेत नरहने गरि कारबाहीको माग गरिएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति समक्ष उनीहरुले त्यस्तो माग गर्दै बिज्ञप्ति प्रकाशित गरि त्यस्तो माग गरेका छन् ।
उनीहरुले लुम्बिनी प्रदेश कार्यसमितिलाई पनि बोधार्थ आग्रह गरेका छन् । काँग्रेसको १४औं महाधिबेशनबाट जिल्लामा शंकरप्रशाद डाँगी र प्रदेशमा पनि अमरसिंह पुन निर्वाचित भएका छन् । उनीहरु सबै काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी प्यानका हुन ।
कारबाहीको गर्न माग गर्दै सिफारिस गरिएकाहरु भने काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्यानलका हुन ।
यो टिमबाट वडा क्षेत्रीय प्रतिनिधि तथा यातायात ब्यबसायी पवनराज बुढाथोकी अध्यक्ष, वडा क्षेत्रीय प्रतिनिधि र अहिलेका पनि उपाध्यक्ष गिरीधारी प्रशाद पौडेल उपाध्यक्ष र क्रियाशिल सदस्य भोलाप्रशाद थापा कोषाध्यक्ष पदमा उम्मेदवार छन् ।
तुलसीपुर खानेपानीका झन्डै ८ हजार १ सय ६५ उपभोक्ता छन् । तर, त्यसमध्य निर्धारित समयमा महशुल बुझाएका करिब ७ हजार ५ सय जतिले मात्रै मताधिकार पाएका छन् ।
नौं दलिय गठबन्धनले यसअघि नेपाली काँग्रेसका नेता यमकान्त भण्डारीलाई खानेपानीमा सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको थियो ।
यो टिमको उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका सिताराम शर्मा आचार्य उपाध्यक्ष, नेकपा एमालेका शेबकराम भण्डारीलाई सचिब र कोषाध्यक्षमा बिप्लव नेकपाका भद्रबहादुर वलीलाई कोषाध्यक्ष बनाउने सहमति भएको थियो । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको पहलमा नौं दलिय सहमति कायम भएको थियो । तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुन्न हुन थालेको खानेपानीको कार्यसमिति मध्य केही सदस्य पदहरुमा सर्वसम्मत भएपनि नेकपा (एकीकृत समाजबादी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरुलाई खुल्ला सदस्य प्रदान गरिएको छ ।