काठमाडौं,पुस २ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले सभापतिमा हार व्यहोर्नु परेपनि कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेता कोइरालाले केही मतबाट पराजित भएपनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको मत जित्न सफल भएको बताएका हुन्।
कांग्रेस १४ औं महाधिवेशनबाट पार्टीभित्र मात्र नभइ पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि कांग्रेसप्रति आकर्षण, भरोसा र विश्वास बढाएको बताए। सभापतिमा जित्न सफल नभएपनि ४० प्रतिशत मत पाउँदा आफू भावविभोर भएको बताएका छन्।
उनले कांग्रेसलाई एकढिक्का बनाएर मात्र फेरि एक नम्बरको पा र्टी बनाउने जिकिर गरेका छन्।
मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन्।
देउवाले २७३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका थिए। पार्टीका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना जारी छ।