२०८३ असार २७ गते शनिवार

काँग्रेस महाधिबेशन ः दिउँसोदेखि सबैको मतगणना सुरु हुँदै


काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४औं महाधिबेशन अन्तरगत बुधबार दिउँसोदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना सुरु हुने भएको छ ।

राष्ट्रिय सभागृहमा भएको सभापतिको मत गणनाको परिनाम बुधबार बिहानै सार्वजनिक भएको थियो ।

अन्य पदाधिकारीको मतगणना भने पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने भएको छ । मतपेटिका चुनावकै दिन सोमबार राति नै पार्टी कार्यालयमा लगेर राखिएको थियो ।

पुस ५ गते भित्र सबै मत परिणाम आइ सक्ने विश्वास निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले ब्यक्त गरे ।

सबैको मत परिणाम सार्वजनिक भएपछि मात्रै निर्वाचितलाई सपथ तथा प्रमाणपत्र दिने कार्यक्रम गरिने भएको छ ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको थियो।

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका हुन ।

देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गर्दा डा. शेखर कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए। दोस्रो चरणको निर्वाचनमा कूल ४ हजार ६ सय २३ मत खसेको थियो । ३५ मत बदर भएका थिए ।

पहिलो चरणको निर्वाचनमा सभापतिमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य द्वय डा. शेखर कोइराला र कल्याणकुमार गुरुङका बीचमा प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणमा शेखर बाहेक अन्य सबै उम्मेदवारले देउवालाई समर्थन गरेका थिए ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। एक सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धा मा उत्रिएका छन् ।

मंसिर २४ गते भृकुटीमण्डपमा कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन भएको थियो।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *