काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि मंगलबार दोस्रो चरणको मतदान भएको छ ।
काठमाडौंको भृकुटी मण्डपमा जारी मतदानमा बेलुकी ८ बज्नै लाग्दा समेत मतदाता मतदानाका लागि लाइनमै छन् । काठमाडौंको तापक्रम ५ डिग्री सेलसियस सम्मको चिसोमा मतदाताहरु आफ्नो पालो पर्खेर अनुसाशित भएर लाइनमा बसिरहेका छन् । सभापति चुन्न दिउँसो साढे तीन बजेदेखि मतदान सुरु भएको थियो ।
मतदान प्रकृया बेलुकी ७ बजेसम्म सक्ने भनिएपनि राति ९ बजेसम्म समय लाग्ने देखिएको छ ।
राति १० बजेबाट मत गणना सुरू हुने जानकारी दिइएको छ ।
सोमबार भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणमा मतदान भएको हो । पहिलो चरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धी छन् ।
देउवालाई पहिलो चरणमा सभापति पदका उम्मेदवारहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन् ।