काठमाण्डाै,मंसिर २६ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र विस्तारित बनाउने बताएका छन ।
आज आइतवार काठमाण्डाैमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई बलियो र विस्तारित पार्टी बनाउने बताएका हुन ।
उनले कांग्रेसलाई अबको महाधिवेशनपछि आधुनिक पार्टी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । नेता महतले आम चुनावमा पार्टीलाई एक बनाएर एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनुपर्ने जिम्मेवारी रहेकाले महाधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वको लागि चुन्नुको विकल्प नरहेकाे दाबी गरे ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीलाई एउटा बलियो पार्टी, विस्तारित पार्टीका रूपमा रूपान्तरण गर्ने हाम्रो जिम्मेवारी छ । त्यो जिम्मेवारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी सम्पन्न गर्न चाहन्छौँ । उहाँले पार्टीलाई एक बनाएर राख्नुभएको छ । आम चुनावमा पनि पार्टीलाई एक बनाएर नेपाली कांग्रेसलाई एक्लै पालिकादेखि केन्द्रीय तहसम्म निर्वाचित गरेर ल्याउनु छ । नेता, कार्यकर्ताको सहयोगमा म कांग्रेसलाई आधुनिक पार्टी बनाउने पूर्ण प्रतिबद्धता जनाउँछु ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा संरचनागत समावेशिताको आधार बने पनि सदस्यतामा अझै समावेशिता नभएको बताए । उनले आउँदा दिनमा पार्टीमा रहेका कमजोरीलाई गम्भीरताका साथ लिएर अघि बढ्नुपर्ने बताए । नेता पौडेलले वीपी कोइरालाको समयमा पार्टीमा रहेको धारिलो वैचारिकतालाई अहिले पनि उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले समाजमा भएका विकृतिलाई चिर्नका लागि काम गर्नुपर्ने पनि बताए ।
नेता पौडेलले नेपाली कांग्रेसभित्र वृहत् एकता कायम गर्न आवश्यक रहेको बताउँदै कार्यकर्ताहरूको भावनालाई प्रतिनिधित्व हुने गरी नेतृत्व चयन गर्न आवश्यक रहेको बताए ।
