तुलसीपुर,मंसिर ११ । घोराहीमा पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र नेपाल पत्रकार महासंघ दाङको समन्वयमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सो अवसरमा राप्ती आँखा अस्पताल रक्षाचौरका कार्यक्रम संयोजक एवं नेत्र अधिकृत शालिकराम गौतमले आँखा स्वस्थ राख्ने तरिका, आँखामा लाग्ने रोगहरु, मोतियाबिन्दु, जलबिन्दु,दृष्टीदोष लगाएतका बारेमा जानकारी दिएका थिए ।
सानो लापरबाहीको कारणले आखाँको ज्योती गुम्न सक्ने भएकाले आखाँलाई सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्नेमा जोड दिए ।
उनले आँखा मानिसको महत्वपूर्ण अंग भएकाले ६ महिनाको अन्तररालमा चेकजाँच गर्न,नियमित सरसफाईमा ध्यान दिन र आँखामा जथाभावी तेल, गाजल लगाउने जस्ता कार्य नगर्न आग्रह गरे ।
उनले आँखा स्वास्थ्यका विषयमा स्थानीय सरकारसंग सहकार्य गरि समुदायस्तरमा आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भैरहेको बताए । अन्धोपन न्युनिकरणका लागि नेपाल नेत्र ज्वोती संघले स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयमसेबिका,शिक्षक,विद्यार्थी,धामी झाक्री,पत्रकारहरुलाई समेत आँखा स्वास्थ्य शिक्षा तालिमहरु प्रदान गरिरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेल र पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले समुदायस्तरमा आँखा स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना जगाउन मिडियाको ठुलो भुमिका हुने भन्दै उक्त कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।
उक्त कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
