२०८३ असार २८ गते आइतवार

सामाजिक सञ्जालमा वडाध्यक्षलाई गाली गरेपछि …

दाङ, कात्तिक २६ । सल्यानमा एक जना ब्यक्तिले वडाध्यक्ष लगाएतका जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत आलोचना गरेपछि उनलाई वडाबाट प्राप्त हुने सबै खाले सेवा सुबिधाबाटै बञ्जित गर्ने निर्णय गरिएको छ । सल्यानको बागचौर नगरपालिका वडा नं. ४ ले बिहीबार एक बिज्ञप्ति मार्फत वडाको सिमखानीका दिलबहादुर केसीलाई वडा कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाहरुबाट बञ्चित गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

वडाध्यक्ष प्रेमबहादुर पुनको नामबाट जारी बिज्ञप्तिमा केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत वडाध्यक्ष र वडा सदस्य लगाएतलाई चरित्र हत्या गर्ने गरि स्ट्याटस लेखेको भन्दै सेवाबाट प्रतिबन्ध लगाउने निर्णय भएको उल्लेख गरेका छन् ।
बिज्ञप्तिमा केसीले कमजोरी नसच्याउँदा सम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । वडाध्यक्ष पुनले केसीलाई अराजक ब्यक्तिको संज्ञादिदै वडाबासीलाई भ्रममा नपर्न आग्रह पनि गरेका छन् ।

नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष पुनले आफु लगाएतका जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिदै दमन गरेको भनेर केसीले समाज सञ्जालमा लखेको हँदा सेवाबाट बञ्जित गर्नु परेको जानकारी दिए ।

तर, केसीले भने आफ्नो स्ट्याटसमा भाइका बिरुद्ध बलात्कारको मुद्दा चलाएर आँफूहरु संग मोटो रकमको बार्गेनिङ गरिएको तथा त्यो रकम दिन आफुहरुले नसकेपछि आफ्नो भाइलाई फसाइएको उल्लेख गरेका छन् ।

केसीका भाइले बिदेशबाट आएपछि करिब सात महिना पहिले गाउँकै एक जना १७ बर्षीया किशोरीसंग बिबाह गरेका थिए ।
बिबाह भइ घरमा सात महिना बसेपछि बुहारी घर र माइतीको समेत सल्लाहले साउन बार्न भनेर माइती गएपछि भाइका बिरुद्ध जवरजस्ती बलात्कारको मुद्दा हालेर फसाउने षडेन्त्र भएको केसीले बताए ।

‘ उनीहरुको बिवाह भएको कुरा वडाध्यक्ष लगाएत समाजलाई सबैलाई थाहाँ थियो । ब्यबहारिक रुपमा समाजिक रुपमा र सांस्कृतिक रुपमा बिबाह हुँदा रोक्न नखोज्ने तर सात महिना पछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

कानुनी रुपमा २० बर्ष भन्दा कम उमेरमा बिबाह गर्न पाइदैन । त्यो बिवाहले मान्नेता पनि पाउँदैन । तरपनि सामाजिक र सांस्कृति रुपमा बिवाह सम्पन्न भइ सकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले बताए । उनले आफ्नो सामाजिक सञ्जालमा पनि २० बर्ष उमेर नपुगेका युवा युवतिका कयौं बिबाहहरु भएको भन्दै ती सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उल्लेख गरेका छन् ।

‘वडा सदस्य घर्तीले उक्साएर मेरो भाइको बिरुद्ध गत माघमा बलात्कार मुद्दा हालिएको छ । जतिखेर मेरी बुहारीको उमेर १७ बर्ष १० महिना पुगगेको थियो,’ उनले भने ‘ यस्ता ब्यबहारिक कुराहरु स्थानीय जनप्रतिनिधि सबैलाई जानकारी हुँदा हुँदै केही दिन वडामै राखेर भएपनि ब्यबहारिक रुपमा मिलाउन सक्नु पथ्र्यौ ।’

केसीले वडाध्यक्षको नाममा जारी बिज्ञप्तिले आफु कत्तिपनि बिचलित नभएको बरु उनीहरुले आफ्नो इजजत आँफै फाल्ने काम गरेको सेतोपाटीलाई प्रतिक्रिया दिए । ‘अन्ययाएमा परेपछि हामी जस्ता सर्वसाधारण जनताले के गर्ने, लेखेरै सत्य सार्वजनिक गर्ने न हो,’ केसीले भने ‘ त्यो भन्दा मेरो अरु कोही प्रति ब्यक्तिगत कुरा छैन ।’ भाइ जेलमा परेपछि आफु तनाबमा परेको उनले प्रतिक्रिया दिए ।

केही दिन पहिले प्रहरी कार्यालयमा आफुसहित वडाध्यक्ष वडासदस्यका बीचमा छलफल भएको र सबैले एक अर्काले गल्ती स्वीकार गरि आपसमा माफी माग्ने काम गरेपनि वडाले आफुलाई सेवावाट प्रतिबन्ध लगाउने कुरा न्यायोचित मान्न नसकिने उनले बताए । ‘मैले गल्ती गरेको भए मुद्दा हालेर कारवाही गरे भयो नि,’ केसीले भने ‘ मलाई वडाको सेवाबाटै प्रतिबन्ध लगाउन खोज्नु साँघुरो सोच हो ।’

केसीको अर्कौ स्ट्याटस वडाध्यक्ष विरुद्ध नभइ वडा सदस्य तुलसीराम घर्ती (जनक) का बिरुद्ध छ । जसमा केसीले वडा सदस्य घर्तीलाई मानब बेचबिखनमा संलग्न रहेको भन्ने आरोप लगाएका छन् । सर्वसाधारणलाई बिदेश पठाउने बाहानामा मोटो रकम अशुल्ने गरेको दोषारोपन गरेका छन् ।

वडाध्यक्ष पुनले चेतावनी स्वरुप केसीलाई वडाको सेवाबाट प्रतिबन्ध लगाउने निर्णय गर्नु परेको बताए । ‘समाजिक सञ्जालमा मेरो समेत नाम जोडेर मनपरी लेख्न थालेपछि चेतवनी स्वरुप बिज्ञप्ति जारी गर्नु परेको हो,’ वडाध्यक्ष पुनले हाँस्दै भने ‘ सामाजिक सञ्जालमा लेख्नेलाई हामीपनि त्यसैगरी ठिक पारौं भन्ने सोचले त्यसो गरिएको हो ।’

तपाँईले केसीको बिरुद्ध कानुनी उपचार नखोजेर सेवाबाटै प्रतिबन्ध लगाउन मिल्छ ? भनेर सोध्दा – वडाध्यक्ष केसीले एउटा चेतावनी दिएपनि त्यस्तो गर्न नमिल्ने स्वीकार गरे ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *