काठमाडौँ,कात्तिक २२ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको अघोषित सहमति विपरित सोमबार आफ्ना लागि इजलास तोकेका छन् ।
तिहार बिदा सकिएर अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश डा। कुमार चुडालको संयुक्त इजलास तोकेका हुन् ।
जबकि प्रधानन्यायाधीश जबरा इजलासमा बसे अरु न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा समेत हेर्ने छैनन् ।
प्रधानन्यायाधीश जबराको कामकारबाहीमा असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीशहरूले केही सातादेखि इजलासमा सामेल भएका छैनन् । बन्दी प्रत्यक्षीकरणका निवेदन समेत प्रभावित भएपछि न्यायाधीशहरूले ती मुद्दाहरुको सुनुवाइका लागि जबरासमक्ष दुई शर्त राखेका थिए । एउटा, बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेशी तोक्न नहुने । अर्को, प्रधानन्यायाधीश जबरा आफू इजलासमा बस्न नहुने ।
इजलास नै सञ्चालन नभएका कारण चौतर्फी दबाब परेका प्रधानन्यायाधीश जबराले सोमबार ९१५ कात्तिक० बन्दी प्रत्यक्षीकरणको निवेदनको मात्र पेसी तोके । त्यो दिन आफूलाई इजलास पनि तोकेका थिएनन् । भोलिपल्ट १६ गते उनले बन्दी प्रत्यक्षीकरण बाहेक बैंकिङ कसुरका निवेदन समेत पेशीमा राख्न थालेपछि अरु न्यायाधीश इजलासमा गएर सुनुवाइ गरेनन् । फेरि एक कदम पछाडि हटेका प्रधानन्यायाधीश जबराले १७ गते बन्दी प्रत्यक्षीकरणका निवेदन मात्रै पेशी तोकेका हुन् । १८ गतेदेखि तिहार बिदा सुरु भयो ।
तिहार बिदा सकिएर अदालत खुलेको पहिलो दिन सोमबार बन्दी प्रत्यक्षीकरणका निवेदन मात्र पेशीमा चढाएका प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीश डा। कुमार चुडालको संयुक्त इजलास तोकेका छन् ।