
छबि पुरी, घोराही, कात्तिक १२ । दाङबाटै चलचित्र ‘मञ्जिल’ पर्दशन गर्न थालिएको छ । कोरोना जगजगीका बीचमै चलचित्र ‘मञ्जिल’ले आकार पाएको हो ।
२०७७ फागुन २१ गते दाङको घोराहीस्थित अम्बिकेश्वरी मन्दिरमा शुभमुहुर्त गरिएको चलचित्रको छायांकन कोरोना कालमा नै सकिएको थियो ।
दोश्रो लहरको कोरोनाको समयमा पनि चलचित्र निर्माण युनिटले भित्रभित्रै काम गरिनै रह्यो । सावधानी अपनाउँदै चलचित्र छायांकनको कामलाई निरन्तरता दिँदै नेपाली चलचित्र उद्योगका लागि अर्कौ एउटा नयाँ दस्तावेज दिन ‘मञ्जिल’ युनिट सफल भएको छ ।
चलचित्रको शुभमुहुर्त गर्दा निर्माता अमर घर्ती ‘युनिक’ले ‘मञ्जिल’लाई नेपाली चलचित्र उद्योगको एक ऐतिहासिक चलचित्र बनाउने उद्घोष गरेका थिए ।
चलचित्रले कस्तो इतिहास निर्माण गर्छ रु अब हेर्ने सयम आएको छ । किनकी ‘मञ्जिल’ कार्तिक १३ गते प्रदर्शन हुँदैछ । स्वर्गद्वारी चलचित्र हलको ठूलो पर्दामा चलचित्र प्रदर्शन गर्न थालिएको छ ।
यो चलचित्रको छायांकन दाङसहित यस क्षेत्रका विभिन्न धार्मिक र पर्यटकीय स्थलमा गरिएको छ । दाङ, रोल्पा, प्युठानलगायतका स्थानमा छायांकन गरिएको चलचित्र मञ्जिलले यहाँको प्राकृतिक सुन्दरता उजागर गर्न कोशेढुंगा सावित हुने आशा गरिएको छ ।
दाङ र आसपासका जिल्लाहरुका सुन्दर प्राकृतिक दृश्यले चलचित्रको फ्रेममा स्थान बनाउनु जिल्लाबासीको लागि आँफैमा खुसीको कुरा हो ।
थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन खुकुरीको धारमा खुट्टा राखेर दर्शक सामु आएको ‘मञ्जिल’ भित्रको कथा बस्तु, यसले दिन खोजेको सन्देश पनि आफैमा उत्कृष्ट भएको दाबी निर्माताको छ ।
चलचित्र केवल मनोरञ्जनका लागि बनेका हुँदैनन् । ‘यसका विभिन्न पक्ष र आयाम हुन्छन् । चलचित्रले समाजको बदलिँदो परिवेश र घटनाक्रमको प्रतिनिधित्व गरेको हुन्छ । यही प्रतिनिधित्व गरेको चलचित्र मञ्जिल बनेको छ,’ प्रोडक्सन म्यानेजर नारायण नेपालले भने ।
चलचित्रका निर्माता निर्देशक एवं सम्पादक सन्देश शाहले आम दर्शकलाई फिल्म हलसम्म लैजाने खालको वातावरण बनाउन सबैको हौसला, आर्शिवादको खाँचो रहेको बताए । उनले चलचित्र ७० लाख बढी लागतमा निर्माण भएको बताए ।
‘मञ्जिल’ कस्तो चलचित्र हो ?
साथी भाइ, आफन्त र विश्वास पात्रको भरोसालाई टिकाउन मानिसले के कस्ता संघर्ष गर्न बाध्य हुन्छ ? भन्ने कुरा यस चलचित्रले दर्शाउन खाजेको छ । मानिस संवेगात्मक चेतसहितको भावनाका साथ अघि बढ्ने सचेत प्राणी हो ।
समाजमा रहँदा उसलाई माया, हेरचाह, सद्भाव, सम्मान, प्रतिष्ठा चाहिनु स्वाभाविक हो । मानिस सही बाटो अंगालेर होस वा गलत बाटो अंगालेर ‘नेम र फेम’ का लागि संघर्ष गर्छ । जसका लागि उ के गर्दैन र ? जो सही छ, उ दिगो रहन्छ, जो गलत बाटोबाट हिँडेको छ उ क्षणभंगुरमा पतनको बाटोमा लाग्छ । यस्तै कुरासहितको रोमाञ्चक विषय कथा बस्तु छ ।
नेपाली कथानक चलचित्रमा प्रस्तुत हुने कथा बस्तुमा अहिलेको सामाजिक परिवेशको प्रतिविम्बलाई नवीन शैलीमा रोचक ढंगले पटकथामा उतारेर पर्दा मार्फत दर्शक सामु ल्याइएको चलचित्रका अभिनेता धिरेन शाक्यले बताए । ‘कोही पनि आफ्नो लक्ष्य प्राप्तिको यात्रामा अघि बढ्दा अप्रत्यासित रुपमा हुने विश्वास घातले पार्ने असर कस्तो हुन्छ रु भन्ने विषय नै यस चलचित्रको आधार हो,’ उनले भने ।
अहिलेका स्थानीय सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गरेका राम्रा र असल अभ्यासलाई चलचित्रका माध्यमबाट उजागर गर्न ठूलो भूमिका खेलेको अभिनेता शाक्य बताए ।
नेपाली चलचित्र क्षेत्रका उम्दा अभिनेता धिरेन शाक्यको दर्बिलो अभिनय, कलाकार सागर खनाल र आलिसा बास्तोलाको सशक्त भूमिका आफैमा यस चलचित्रको सबल पक्ष मानिएको छ ।
सशी शर्मा मजगैयाँ, अमर घर्ती, लोकराज पराजुली, सुभेश नेपाल, उजेश न्यौपानेको अभिनय पनि देख्न पाइने छ । पहराको भीमकाय ढुंगा फुटाएर उम्रिएको रुखलाई मात्रै थाहा हुन्छ, आफ्नो अस्तित्व स्थापित गर्न गर्नुपरेको संघर्ष कस्तो हुन्छ भनेर । विषमपरीस्थितिका बेला गरिने जुन कुनै जोखिमको कामले नै उसको मुल्यांकन गर्न मद्दत गर्छ ।
कोरोना भाइरसको माहमारीका कारण लामो समयदेखि ठप्प प्राय बनेको चलचित्र उद्योग, चलिचित्र निर्माण र प्रदर्शनमा प्राण भर्न प्रयास हुनु आफैमा फलामको चिउरा चपाउनु सरह नै मान्न सकिन्छ ।
किनकी झन्डै दुई बर्षदेखि सिनेमाहलहरु बन्द छन् । दर्शकहरु चलचित्र हलमा जान नपाएपछि यो बीचमा युट्युब तथा डिजिटल माध्यमबाट चलचित्र हेरेरै भएपनि चित्त बुझाएका छन् ।
२०७६ चैत ११ देखि देशभर गरेको ‘लकडाउन’ ले चलचित्र उद्योग नै थङथिलो बनेको छ । लकडाउन हुँदा सुरुमै बन्दको निशानामा परेका सिनेमाहलहरु सञ्चालनको अनुमति सबैभन्दा अन्तिममा पाएका छन् ।
ऋब फेरि चलचित्र उद्योगलाई पहिले जस्तै गुल्जार बनाउन सम्बद्ध निकाय, कलाकार, संघसंस्था, दर्शकको साथ र माया चाहिएको छ ।
