तुलसीपुर, भदौ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा आँफुले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।
आसन्न महाधिवेशनका सन्दर्भमा जिल्ला जिल्लामा नेता कार्यकर्ता भेटघाटका क्रममा शुक्रवार दाङ आएका नेता राणाले पत्रकारहरु संग आँफु पार्टीको केन्द्रीय अध्यक्षमा लड्ने बताएका हुन ।आगामी महाधिवेशनमा नेतृत्व लिन दोस्रो पुस्ताका नेताहरु मध्य जयन्त चन्द, राजेन्द्र लिंग्देन, बिक्रम पाण्डे र डा। धवल सम्शेर राणाको विशेष चर्चा भइरहेको छ ।
राणाले आफ्नो पक्षमा माहोल निर्माण गर्न भन्दै जिल्ला दौडाहामा लागेका छन् । उनी सोही क्रममा शुक्रबार तुलसीपुर आइपुगेका थिए । त्यसक्रममा उनले अग्रज नेतृत्वहरुको उच्च सम्मान गर्दै उनीहरुका अनुभवलाई ग्रहण गरेर दोस्रो पुस्ताले नेतृत्व गरेर राप्रपालाई नयाँ उर्जा दिनु पर्ने बताए ।
त्यस्तै उनले हिन्दु राज्य र राजासहितको प्रजातन्त्रको अभियानमा राप्रपा रहेको स्पष्ट पारे । राणाले सुशानयुक्त सभ्य समाज, भ्रष्टाचाररहित राज्य र रोजगारीका अवसरहरु बृद्धि गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनु राप्रपाको मुख्य राजनीतिक कार्यदिशा रहने जानकारी दिए ।
मुलुकमा अहिले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको जिकिर गर्दै राणाले आर्थिक पारदर्शिता कम्जोर भएर भ्रष्टाचार व्याप्त भएको बताए । ‘हामीले परीकल्पना गरेजस्तो गणतान्त्रिक अभ्यास हुन सकेको छैन । त्यसैले अब राप्रपामा दोस्रो पुस्ता अगाडि आउनु पर्छ ,’ उनले भने । उनले बिद्यमान परिस्थितिबाट पार पाउन राप्रपाको राजनीतिक मुख्य ऐजेण्डा संबैधानिक राजसंस्था सहितको हिन्दु राज्यको अबधारणा आवश्यक रहेको बताए ।
राप्रपा नयाँ राज्य व्यवस्थाको पक्षमा रहेको भन्दै सानो आकारको संघीय सरकार र शक्ति सम्पन्न सानै आकारको स्थानीय सरकारसहितको राज्य बनाउन जरुरी रहेको तर्क गरे ।अहिलेको जस्तो मोडेलको संघीयताका कारण मुलुक आर्थिक रुपमापनि ध्वस्त भइसकेको भन्दै अहिलेको मोडेलको संघीयता नेपाल जस्तो मुलुकलाई थेग्नै नसक्ने दाबी गरे ।
मुलुकको पछिल्लो बिकशित राजनीतिक घटनाक्रमले देश अभिभावक बिहीन अवस्थामा पुगेको राणाले बताए । दूई तिहाइ वहुमतले संविधान परिवर्तन गरि हिन्दु राज्य र राजासहितको प्रजातन्त्र ल्याउन सकिने उनले बताए ।
त्यस्तै उनले जनमत संग्रह गरेर पनि उक्त निर्णय लिन सकिने तर्क गरे । राप्रपाले दुवै विकल्प मध्ये एउटा विकल्प प्रयोग गरी हिन्दु राज्य र राजासहितको प्रजातन्त्रका विषयमा अगाडि बढ्न जरुरी रहेको उनको धारणा छ ।
८५ प्रतिसत भन्दा बढी हिन्दुहरु भएको मुलुकमा धर्मनिरपेक्षता लाद्नु नागरिकको धार्मिक स्वतन्त्रता माथि कै आघात भएको राणाले बताए । संविधान संसोधन गर्न नसकिने भए जनमत संग्रहबाट पनि धर्मनिरपेक्षता हटाएर मुलुकलाई हिन्दु राज्य घोषणा गर्नुपर्ने उनको भनाई छ ।
फरक प्रशंगमा उनले मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० पारित गर्न नहुने बताए । त्यो संझौता राष्ट्रियताको लागि घातक रहेको उनको दाबी थियो ।त्यस्तै उनले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका संघीय र प्रदेश सरकार भन्दा स्थानीय सरकारले अहम भूमिका निर्वाह गरेको तर्क गरे ।
राप्रपाको आगामी एकता महाधिवेशन कार्तिक २७ देखि ३० सम्म काठमाडौंमा गर्ने गरि मिति सार्वजनिक भइसकेको छ । त्यसका लागि अहिले जिल्लामा वडा अधिवेशनहरु भइ रहेको राप्रपा दाङका नेता क्षेत्रबहादुर बस्नेतले जानकारी दिए ।
वडा अधिवेशन सकिए लगत्तै भदौ २७ र २८ गते क्षेत्रीय अधिवेशन हुने नेता बस्नेतले बताए । जिल्ला अधिवेशन असोज पहिलो साता सम्पन्न गर्ने तयारी राप्रपा दाङले गरेको छ ।