२०८१ चैत्र १४ गते बिहिवार

काँग्रेसको आसन्न अधिबेशनले तुलसीपुरको एक वडामा तरंगित मोटर राजनीति

दाङ, भदौ १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का कार्यबहाक वडाध्यक्ष बिनोद पाण्डेले नेपाली काँग्रेसको अधिबेशन प्रभाबित तुल्याउने उदेश्यले असार मै बाँड्नु पर्ने मोटर नबाँडेको भन्दै बिरोध जनाएका छन ।

मंगलबार वडा कार्यालयमै पुगेर स्थानीय काँग्रेसका नेताहरु तारा कार्की, देबेन्द्र रिजाल, भेषराज डाँगी, चेतकान्त कँवर, उज्ज्वल भट्टराई लगाएतका झन्डै ३० जना नेताहरुले धानको बिउ राख्नको लागि वडा र प्रदेश सरकारले किनेका पानी तान्ने मोटरहरु अहिले सम्म बितरण नगरी महाधिबेशन प्रभावित तुल्याउने गरि मोटर बाँड्न थालेको भन्दै बिरोध जनाएका हुन ।

‘पहिलै बाँड्नु पर्ने मोटरहरु अहिले सम्म नबाँड्नु र जस्ले आफ्नो गुटलाई भोट दिन्छ त्यसैलाई मोटर बाँड्छौं भन्दै हिड्नु सरासर गलत हो,’एक नेताले भने ‘काँग्रेसको महाधिबेशन प्रभावित तुल्याउने गरि ती मोटरहरु अब बाँड्न पाइन्न ।’ती नेताले कि अब आफुहरुले पत्रकार सम्मेलन गरि कुरा सार्वजनिक गर्ने वा कि भने ती मोटरहरु अधिबेशन सकिएपछि बाँड्नु पर्ने भन्दै कार्यबहाक वडाध्यक्ष पाण्डेलाई वडा कार्यालयमै पुगेर खवरदारी गरेका छन् ।

‘यदी अधिबेशनको परिनाम आफ्नो पक्षमा पार्न सरकारी लगानीको दुरुपयोग भए त्यो स्वीकार्य हुनै सक्दैन,’ ती नेताले भने ‘हामी जबरजस्ति गर्न दिदैनौं, बरु यी मोटरहरु फिर्ता पठाइदिएपनि हुन्छ ।’

उनीहरुले कि, तत्कालै ती मोटरहरु बितरण गरिनु पर्ने हैन भने मोटरलाई चुनाबी नारा बनाउन नपाइने भन्दै चेतावनी दिएका थिए ।तुलसीपुर १३ का कार्यबहाक वडाअध्यक्ष पाण्डेका अनुसार गत असारमै वडाको ५ लाख बजेटबाट १५ वटा र प्रदेश सरकारले दिएको थप २७ वटा गरि ४२ वटा डेढदेखि दूई हर्ष पावरका मोटरहरु वडा कार्यालयमै थन्किदै आएका छन् ।

वडा नं. १३ को फूलबारी क्षेत्रमा सिंचाई सुबिधा नभएको तथा आकाँशे पानीको भरमा खेति लाग्ने हुँदा स्थानीय खोलाहरुबाट पानी तान्न सहज होस भनेर ती मोटरहरु स्थानीयको माग बमोजिम बितरण गर्न ल्याइएको हो ।

कार्यबहाक वडाध्यक्ष पाण्डेले ५५ जनाले मोटर चाहियो भनेर माग फारम भरेको भएपनि जम्मा ४२ वटा मात्रै मोटर रहेको हुँदा बिबाद आउन सक्ने सोचेर गत असारमा बितरण नगरिएको तर्क गरे । मोटर नपाउने १२÷१५ जनालाई कसरी मनाउने ? भन्ने कुरा समस्याको रुपमा देखा परेको उनले बताए ।

अब तोरीमा पानी सिंचाईका लागि आँफुले मोटर बाँड्ने योजना बनाएको पनि कार्यबहाक वडाध्यक्ष पाण्डेले जानकारी दिए ।‘हामीले बिगत चार बर्षदेखि यसैगरि मोटरहरु स्थानीय किसानलाई बाँड्दै आएका छौं,’ पाण्डेले प्रश्न गरे ‘ यतिका बर्ष उहाँहरु केही नबोल्ने र महाधिबेशन नजिक आउँदा उहाँहरुले बोल्नु कति जायज हो ।’

उनले आँफुले आगामी निर्वाचनको परीनाम आफ्नो पक्षमा पार्न मोटर राजनीति गर्न खोजेको भन्ने साँघुरो सोचाई भएको तर्क गरे ।गत बैशाखमा वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको एकाएक मृत्यु भएपछि पाण्डेले वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यो वडामा वडाध्यक्षसहित सबै नेपाली काँग्रेसले जितेको थियो । तर, यहाँ पार्टी भित्रको गुटगत राजनीति भने चर्कौ रुपमा हुने गरेको छ ।काँग्रेस भित्र वडा र नगर अधिबेशन नजिक आउँदै गर्दा एक गुटले अर्कौ गुटलाई आउन नदिने उदेश्य अनुरुप आरोप प्रत्यारोप हुन थालेको जानकारहरु बताउँछन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *