२०८१ फाल्गुन २ गते शुक्रवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान निजी जस्तै महंगो बन्दै

खेमराज रिजाल,
दाङ, पुष १४  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ । प्रतिष्ठानले उपचार शूल्क निकै महंगो बनाउने गरि तयारी थालेको हो । प्रतिष्ठानले तयार पारेको शूल्क झण्डै नीजि अस्पताल सरह छ । प्रतिष्ठानमा गाभिएको राप्ती उपक्षेत्रीय अस्पतालले लिँदै आएको उपचार शूल्क भन्दा प्रतिष्ठानको उपचार शूल्क अधिक बढि निर्धारण गर्न थालिएपछि यसको मारमा सबै भन्दा बढि असहाय तथा गरिब नागरिकहरु पर्ने भएका छन् ।

प्रतिष्ठानले अप्रेशनको शुल्क २ हजार देखि २० हजार रुपैयाँ सम्म निर्धारण गर्ने तयारी थालेको छ । नयाँ शूल्क अनुसार सामान्य अप्रेशनको २ हजार रुपैयाँ उल्लेख गरिएको छ । यसैगरि मध्यम खालको अप्रेशनका लागि ८ हजार र जटिल अप्रेशनका लागि बीस हजार रुपैयाँ निर्धारण गरिएको छ । जबकी यसअघि राप्ती उपक्षेत्रीय अस्पतालले सामान्य अप्रेशनको शूल्क ५ सय रुपैयाँ निर्धारण गरेको थियो भने जटिल अप्रेशनको शुल्क ६ हजार मात्रै लिँदै आएको थियो । ‘सरकारी स्वास्थ्य प्रतिष्ठानले यसरी तोकेको चरम शूल्क विपन्न नागरिकहरुले कसरी तिर्न सक्छन् ?’ एक चिकित्सकले भने ‘यो पाराले त उपचार अभावमा बिरामीहरुले ज्यानै गुमाउनु पर्ने अवस्था आउने देखियो ।’

यसैगरी सामान्य ओपिडि सेवा ( १० दिनका लागि ) १ सय रुपैयाँ तयार पारिएको छ । यसअघि उपक्षेत्रीय अस्पतालले २५ रुपैयाँ मात्रै लिँदै आएको थियो । यसैगरि विशेष ओपिडि सेवाका नाममा प्रतिष्ठानले थप एक सय रुपैयाँ शुल्क तोक्ने तयारीमा छ । ईमरजेन्सी सेवाका लागि ३० रुपैयाँ तिर्दै आएका बिरामीहरुले प्रतिष्ठानको शूल्क पास भए अब २ सय रुपैयाँ तिर्नु पर्ने भएको छ । यसैगरि सामान्य बेड चार्ज प्रतिदिन ५० रुपैयाँ तिर्दै आएका बिरामीहरुलाई प्रतिष्ठानको निर्णय कार्यान्वयन भए २ सय रुपैयाँ तिर्नु पर्ने छ । प्राईभेट बेडको शूल्क पनि ३ सय ७५ रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्याउने तयारीमा प्रतिष्ठान छ। यसैगरि यसअघि निशुल्क सेवा प्रदान भैरहेको आईसियु, सिसियु, एनआईसियु, पिआईसियु,एमआईसियु बेडको शूल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गर्नेगरि प्रतिपष्ठानले गृहकार्य थालेको छ ।

यसैगरि बच्चाको (नर्सरी बेड)प्रयोग गरेवापत ५ सय रुपैयाँ शूल्क प्रतिष्ठानले तोक्न थालेको छ । यसअघि राप्ती उपक्षेत्रीय अस्पतालले यो सेवा निशुल्क उपलब्ध गराउँदै आएको थियो ।

यसैगरी बिरामीहरुले भर्ना हुँदा चर्को शूल्क डिपोजिट राख्नु पर्ने गरि प्रतिष्ठानले नयाँ शुल्क निर्धारणको तयारीमा छ । प्रतिष्ठानले सामान्य बेडका लागि २ हजार,क्याविनका लागि ५ हजार,आईसियु,सिसियु,पिआईसियु,एमआईसियु र एनआईसियुका लागि ५ हजार रुपैयाँ बिरामीले अग्रिम धरौटी राख्नु पर्नेगरि शूल्क तयार पारिएको छ । यसैगरि बच्चाका लागि २ हजार,प्राईभेट वार्डका लागि २ हजार रुपैयाँ धरौटी शुल्क तय गर्नेतगरि प्रतिष्ठानले तयारी थालेको छ । यसैगरि यसअघि निशूल्क रहेको नर्सिङ चार्ज, र सामान्य वार्डबाट प्राईभेट वार्डमा बिरामी स्थानान्तरण हुन चाहे दुईहजार रुपैयाँ तिर्नु पर्ने भएको छ ।

यसैगरि दुरबिन विधिबाट एपेण्डिक्सको गरिने उपचार शूल्क २० हजार रुपैयाँ रहने गरि प्रतिष्ठानले योजना बनाएको छ । यो सेवाका लागि राप्ती उपक्षेत्रीय अस्पतालले बढिमा ६ हजार रुपैयाँ लिँदै आएको थियो ।

यसैगरि प्रतिष्ठानबाट प्राप्त हुने सिफारीसको शूल्क समेत महंगो बनाउन थालिएको छ । सिफारीसका लागि ५ सय रुपैयाँ शूल्क निर्धारण गर्न थालिएको छ । यसअघि उपक्षेत्रीय अस्पतालले दुई सय रुपैयाँ शूल्क लिँदै आएको थियो । स्वास्थ्य प्रमाणपत्रका लागि सिफारीस,लाईसेन्स लगाएतका सिफारीसहरु यस अन्तर्गत पर्दछन् ।

यसैगरी अल्ट्रासाउण्डको शूल्क समेत महंगो बनाउन प्रस्ताव गरिएको छ । ५ सय बाट यो सेवाको शूल्क एक सय रुपैयाँ बढाएर ६ सय रुपैयाँ पुर्याउन थालिएको छ । ईण्डोस्कोपी सेवाका लागि १ हजारबाट बढाई १ हजार २ सय रुपैयाँ पुर्याउने योजना बनेको छ । यसैगरि ईसिजिका लागि २ सय रुपैयाँ उल्लेख गरिएको छ । उपक्षेत्रीय अस्पतालले यसअघि यो सेवा १ सय ५० रुपैयाँमा प्रदान गर्दै आएको थियो ।

गत मंसिर १२ गते प्रतिष्ठानले प्रस्ताव गरेको महंगो शूल्कको प्रस्ताव तत्कालै कार्यान्यनमा लैजानका लागि प्रयास थालिएको छ । प्रतिष्ठान स्रोतका अनुसार आगामी जनवरी देखिनै यो शूल्क निर्धारण गर्ने गरि प्रतिष्ठानले प्रयास थालिरहेको छ । गत असोज १२ मा राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण भएको थियो । ‘भौतिक पूर्वाधार र उपचार सेवाको गुणस्तरियता भएको भएपनि शूल्क बृद्धिलाई असहज मानिन्थेन होला,’एक पुराना चित्सकले भने ‘पूर्वाधार र सेवा सुविधा बिनै बिरामीहरुको ढाड सेक्नेगरि शूल्क बढाउनु किमार्थ राम्रो हैन ।’

यता प्रतिष्ठानले भने नयाँ शूल्कका बारेमा प्रतिष्ठानले आन्तरिक गृहकार्यका लागि मात्रै तयार पारेको जनाएको छ । जिल्लामा रहेका विभन्न संघसंस्थाहरुसंगको सल्लाह बमोजिम नयाँ शूल्कका बारेमा मोटमोटी खाका तयार पारेको र उक्त खाकाका बारेमा छलफल चलिरहेको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले वताए । ‘यो नयाँ शूल्क जिल्लामा रहेका संघसंस्थाहरुसंगको छलफल र सल्लाहबाट तयार पारिएको हो,’ उनले भने ‘यो उपचार शूल्क कतै सिफारीस भएको छैन, प्रतिष्ठानले यस बिषयमा आन्तरिक छलफल गरिरहेको मात्रै हो ।’

प्रकाशित मिति : २०७५ पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *