काठमाण्डौ,साउन ३२ । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
अधिवेशन अन्त्य गर्नुअघि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेको सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
‘सरकारका तर्फबाट प्रतिनिधि सभाको अन्त्य गर्नबारेमा परामर्श भएको थियो । सभामुखज्यूले विजनेश नभएकाले अन्त्य गर्दा हुन्छ भन्ने परामर्श दिनुभएको थियो,’ प्रेस विज्ञ न्यौपानेले भने ।
सर्वोच्च अदालतले दोस्रो पटक २८ असारमा प्रतिनिधि सभा पुनःस्थापना गर्ने परमादेश दिँदै ३ साउनमा अधिवेशन बोलाउन भनेको थियो । त्यही अधिवेशन सरकारले अन्त्य गर्न सिफारिस गरेको हो ।
संसद्लाई विजनेश नदिएको भन्दै सरकारको आलोचना भइरहेको थियो । सरकारले भने मन्त्रिपरिषद् विस्तार भएपछि मात्रै थप विजनेश दिन सकिने बताउँदै आएको थियो ।