काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसले १४औं महाधिबेशनलाई मध्यनजर गर्दै विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गरेको छ ।नयाँ ब्यबस्था अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति क्रियाशील सदस्यले चुन्ने व्यवस्था हटाइएको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधन गर्ने र अबदेखि वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने निर्णय गरेको हो ।
बैठकले गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्थासमेत गरेको छ।सभापति बाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्यपनि बन्न पाउने ब्यबस्था गरिएको छ । पछिल्लो ब्यबस्था अनुसार अब मतदाता भने वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।
यो संशोधनलाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने कांग्रेसको तयारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। यस्तै अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन गरिएको छ।
अब वडा सभापति र क्षेत्रीय प्रतिनिधिले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वबारे निर्णय गर्न पाउने ब्यबस्था गरिएको छ ।