२०८१ असार ३ गते आइतवार

प्रचण्डले माधवको ढाडमा टेकेर केपीको टाउकोमा प्रहार गर्ने प्रयास गरे– शंकर पोखरेल


तुलसीपुर, साउन ३० ।तीन दिन अगाडि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा माओबादी केन्दैका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का कारण मुलुकमा अस्थिरता पैदा भएको बताएका छन् ।

शनिबार दाङको घोराहीमा शहिद नेत्रलाल अभागीको शालिक अनावरण पछि सम्बोधन गर्दै पोखरेलले प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिश गरेको टिप्पनी गरे ।

पोखरेलले भने ‘ आजको परिनाम त्यसै कुराको पुष्टि हो भन्ने मलाई लाग्छ ।’

प्रचण्डले माओबादीको युद्धकालिन नीति अझैं नछोडेको पोखरेको आरोप थियो । प्रचण्डमा रहेको अस्थिरता, अवशरबाद, महत्वाकाँक्षा जस्ता तीन वटा कुराहरुको संयोजन नेपालको राजनीतिको अस्थिरताको कारण भएको पोखरेलले दाबी गरे ।

त्यस्तै उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी भएको बताए । नेकपा एउटै घोषणा पत्र बनाएर निर्वाचनमा गएपछि जितेपछि बिपक्षी दलका नेतासंग साँठगाँठ गर्नुले नेकपामा खटपट सुरु भएको बताए ।

जनतामाझ जाँदा एउटा र जितेपछि अर्कै कुरा गर्नू जनता माथि गरिएको घात भएको उनको तर्क थियो । देउवा प्रचण्डको कुण्ठा र प्रतिशोधको मोहरा मात्रै भएको टिप्पनी पोखरेलले ब्यक्त गरे ।उनले अहिलेको सरकार नीति बिहीन, दिशाबिहीन तथा गनतब्य बिहिन रहेको भन्दै सरकारको कुनै गनतब्य र भबिस्य नरहेको जिकिर गरे । सरकार कि जनताको हुन्छ, कि जनताबाट निर्वाचित जनप्रतिनिधिको हुन्छ,’ पोखरेलले भने ‘ तर, यहाँ त अध्यादेश मार्फत सरकार बनेको छ । यो लोकतन्त्रको अपमान हो ।’

पहिलो पटक प्रतिनिधिसभा पुनःस्थापना पछि बिपक्षी दलहरुले बैकल्पिक सरकार दिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन समयमा जनतामा जाने बाटो रोजेको उनको तर्क थियो ।

अन्ततः मुलुक मध्यावधि निर्वाचनमा जानुको बिकल्प नरहेको पोखरेलले बताए । ‘अन्तिममा जनता माझ जानुको बिकल्प छैन । निर्वाचनमा जानुको बिकल्प छैन,’ पाखेरेलले भने ‘ केपीले पनि त्यही भन्नु भएको थियो र अब शेरबहादुरजीले गर्ने पनि त्यही नै हो ।’

त्यस्तै उनले आँफु नेतृत्वको प्रदेश सरकार स्वार्थ र अवसरवादका कारण ढलेको भएपनि जनताको मनमा आँफुले राम्रो छाप छोडेको दाबी गरे ।‘ प्रदेशमा हामीले बसालेको जग अब कसैले भत्काउन सक्नेवाला छैन,’ पखरेलले भने–‘प्राविधिक रुपमा नेतृत्व खोसिएको भएपनि जनताको मनमा र बिश्वासमा हामीहरुले नेतृत्व कायम गरिसकेका छौं।’ उनले तीन वटा अञ्चलिक मनोबिज्ञान रहेको प्रदेशमा आँफुले रचनात्मक रुपमा राजधानी दाङमा ल्याउन सफल भएको बताए ।

को हुन अभागी ?
राजनीति, साहित्य र शैक्षिक व्यक्ततत्वका रुपमा परिचित नेत्रलाल अभागीको जन्म विसं. २००१ साल पुस २७ गते दाङको धर्ना गाविस वडा नं. २, सिसैपुर गाउँमा भएको हो ।

पिता मोहनलाल उपाध्याय र माता जयन्ती उपाध्यायका दशौं सन्तान मध्येमा सबैभन्दा कान्छा सन्तान हुन अभागी । जस्को प्रारम्भीक शिक्षा घरमै भयो ।
उनले २००८ सालमा महेन्द्र मिडिल स्कुल धर्नाबाट औपचारिक शिक्षा सुरु गरे । नेत्रलालले २०१९ सालमा पद्मोदय व्यवसायिक स्कुल घोराहीबाट एसएलसी उत्तीर्ण गरे ।

महेन्द्र कजेल भरतपुरबाट प्रविणता प्रमाणपत्र तहको शिक्षा हासिल गरे पछि नेत्रलाल २०२२ सालमा नेपाली विषयमा बिएअनर्स द्वितिय श्रेणीमा उत्तीर्ण भए ।

नेत्रलाल पञ्चायती शासन सत्ताको बिरुद्धमा लड्दा ११ वर्ष भूमिगत जीवन बिताउन बाध्य भए ।त्यसक्रममा उनले दाङसहित पश्चिम नेपालमा विभिन्न जिल्लाहरुमा परिवर्तनका लागि अभियान सञ्चालन गरे । १९ वर्षे राजनीतिक जीवन कालमा अत्यन्त संघर्ष पूर्ण कालखण्ड बिताएका नेत्रलालले वि.सं. २०२३ मा केन्द्रको पुष्पलाल समूह निकट रहेर अर्घाखाँची र गुल्मीको संयुक्त प्र.ने.क.पा. जिल्ला कमिटीमा रही काम गरेका थिए ।

वि.संं २०३१ मा सम्पन्न चौथो महाधिवेशनबाट सुदूरपश्चिमको क्षेत्रीय ब्युरोको सदस्य बनेका नेत्रलाल वि.सं. २०३० साउन २५ गतेदेखि पूर्णरूपमा राजनीतिक गतिविधिमा समर्पित भएर भूमिगत जीवनको यात्रा सुरु गरेका नेता हुन । अभागी वि.सं. २०३६ साउनमा ने.क.पा. (माले) को केन्द्रीय सदस्य बने । वि.सं. २०३६ असार ४ गतेदेखि दाङ जिल्लामा सुरु भएको आन्दोलनको नेतृत्व सम्हाले । नेत्रलालले उतिखेर जमिन्दार, शोषक, सामन्तको भकारी फोडी किसानलाई वितरण गर्ने कार्यको नेतृत्व गरेका थिए ।

प्रगतिवादी विचार धाराका कवि नेत्रलालका ‘नर्कको कथा’ खण्डकाव्य, ‘गंगा–चिनी’ महाकाव्य, ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ कविता संग्रह र ‘वर्ग प्रेम’ कविता संग्रह प्रकाशित छन् ।

वि.सं. २०२२ मा काठमाडौंको धुम्रबराह बाल सह–शिक्षालयमा शिक्षण गरेका नेत्रलाल २०२३ सालमा अर्घाखाँची जिल्लाको चुत्राबेंसी त्रिवेणीपुरस्थित जनज्योति माविमा शिक्षक हुँदै प्रधानाध्यापक भएका थिए । त्यसपछि चुत्राबेसीबाट २०२४ सालमा दाङको नारायणपुरस्थित सिद्धरत्न प्राविको प्रधानाध्यापक भएका थिए ।

नेत्रलाल २०४१ साल जेठ ६ गतेका दिन पार्टी कामका लागि दाङबाट देउखुरी जाने क्रममा सम्पर्क विहीन बनेका थिए । त्यसपछि ६ महिनापछि चैलाही गाविस थरिकोट फेदी बौराह खोलानजिक सुके खोला किनारमा उनको अवशेष फेला परेको थियो । तत्कालिन पञ्चायतका मानिसहरुले उनको हत्या गरी फालेको दाबी एमालेका नेताहरुले गर्दै आएका छन् ।उनको शालिक प्रदेश सरकारको करिब १५ लाख रकमबाट निर्माण गरिएको हो ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *