तुलसीपुर, साउन १० । नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री दीपक गिरीले इतिहास बोकेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टलाई नेपालकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लव दाङ शाखामा सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य गिरीले इतिहास बोकेको एयरपोर्टलाई कम्युनिष्ट सरकारले छायाँमा पार्ने खोजेको आरोप लगाए ।
‘ खै बजेटले एयरपोर्ट र दाङलाई कहाँ नेर चित्त बुझ्दो संबोधन गरेको छ,’ उनले प्रश्न गरे ‘ इतिहास बोकेको टरिगाउँ एयरपोर्टलाई देशकै ‘ए’ क्लासको डोमेस्टिक एयरपोर्ट बनाउन पहल गर्ने छु ।’
उनले आफु अहिले पराजित भएको र कुनैदिन आफुलाई नागरिकले म्यान्डेट दिएर माथि पठाए टरिगाउँ एयरपोर्टको बिकासको लागि सबै भन्दा पहिला ध्यान दिने बताए ।
उनले आफु पराजित भएको हुँदा संबिधानले पनि मन्त्री बन्ने अवस्था नरहेको भन्दै तरपनि कतिपयले दीपक गिरी ६ महिनाका लागि भएपनि मन्त्री बन्छन् भन्ने गरेको बताए । ‘ म पराजित मान्छे मन्त्री हुने कुरै आउँदैन,’ उनले भने ‘ यो हल्ला मात्रै हो र त्यसमा कुनै सत्यता छैन ।’
त्यस्तै नेता गिरीले तुलसीपुर–घोराही फोरलेन सडक बिस्तार कार्यमा तुलसीपुर उपमहानगरपालिकाको साधन स्रोत र सवारी साधनहरु दुरुपयोग भएको भन्दै बिरोध गरे ।
‘मैले सुनेको छु, मलाई धेरैले साथीहरुले तुलसीपुरका स्रोत साधन दुरुपयोग गरेको कुरा गर्नु भएको छ,’ गिरीले भने ‘ सडकको काममा नगरपालिकाका गाडी घोडाको लाइन किन लगाउने ?’
नेपाली काँग्रेसले अहिलै सत्तामा जान कुनै सोच नबनाएको भएपनि कम्युनिष्टको आपसी कलहका कारण देश बर्बाद हुन थालेपछि काँग्रेसलाई समयले सत्तामा पु¥याएको उनले बताए । त्यस्तै नेता गिरीले १४औं महाधिबेशन लोकतान्त्रिक बिधि पद्धतिमा शान्ति पूर्ण रुपमा सम्पन्न हुने आशा ब्यक्त गरे ।कार्यक्रम रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको हो ।