
असार २९। नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आज अपरान्ह १ बजे निर्धारित बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
अर्को बैठकको मिति तय भएको छैन । यसअघि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न सोमबार साँझ बैठक डाकिएको थियो । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका कारण बैठक अनौपचारिक रूपमा मात्र बसेका थियो ।
माधव नेपाल पक्षसहितको बैठक राख्नेगरी छलफल भइरहेका कारण केही समय बैठक स्थगन भएको एमाले स्रोतले जनाएको छ । सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिताका विषयमासमेत अन्योल सिर्जना भएको छ। नेपाल पक्षले उक्त स्थायी कमिटी बैठकमा सहभागी हुने विषयमा निर्णय गरिसकेको छैन।