दोलखा,असार १३ । दोलखामा कोभिड१–९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई युवाहरुको एक समूहले गएराति कुटपिट गरेको हो ।
जाँडरक्सी खाएर आएका युवाहरुले कुटपिट गरेका डाक्टर रोविश कार्कीले जानकारी दिए ।
आफूमाथि हातपात गर्न थालेपछि भागेर अस्पताल भवनभित्र चुकुल लगाएर ज्यान जोगाएको कार्यालय सहयोगी टोपबहादुर मिजारले बताए ।
घटनामा संलग्न तामाकोशी गाउँपालिका मालुका गोपाल तिमल्सिना, रोशन पोखरेल र बिजुली नेपालीलाई पक्राउ गरी अनुसन्धान थालिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे पुर्पक्षको लागि थुनामा राखेर २ देखि ५ वर्षसम्म कैद वा २ लाख देखि ५ लाख जरिबाना वा दुवै सजाय हुन सक्नेछ ।