तुलसीपुर, जेठ २० । जिल्ला प्रशासन कार्यालय दाङले ६ दिनमै ढुंगा, गिट्टी र वालुवाको ढुवानी बारे यसअघि गरेको आफ्नो गलत निर्णय सच्चाएको छ ।जेठ १४ गते मात्रै स्थानीय प्रशासनले जिल्लाको शहरी क्षेत्रको हकमा बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म ढुंगा बालुवा गिट्टी ढुवानी गर्न पाउने भनेर समय छुट्याएको थियो ।
त्यस्तै उस्ले चुनढुंगा ढुवानीका लागि रोल्पाको होलेरी सडक खण्डको लागि बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बंगलाचुली गाउँपालिकाको लागि बेलुकी ५ बजेदेखि मध्यराति १२ बजेसम्मको समय निर्धारण गरिएको थियो । उच्च अदालत तुलसीपुरको आदेशपछि ६ दिन भित्रै स्थानीय प्रशासनले आफुले यसअघि गरेको गल्ती सच्याएको छ ।
उच्च अदालत बार एशोसियसन तुलसीपुरका अध्यक्ष अधिबक्ता रबिन्द्र धितालले उच्च अदालत तुलसीपुरमा जिल्ला कोरोना संकट ब्यबस्थापन समिति दाङको उक्त निर्णय बिरुद्ध उस्लाई बिपक्षी बनाइ जेठ १७ गते रिट निवेदन दर्ता गराएका थिए । धितालले आफ्नो रिटमा स्थानीय प्रशासनको उक्त निर्णय लुम्बिनी प्रदेश कानुनको वित्त ब्यबस्थापन ऐन दफा र प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी ऐन बिपरित रहेको उल्लेख गरेका थिए ।
प्रदेश नियमाबलिमा बालुवा गिट्टी ढुवानी गर्ने सवारी साधन शहर वा वजार क्षेत्रमा ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन नपाइने ब्यबस्था रहेको छ । सोही रिटमाथि सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरकी मूख्यन्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले बिपक्षहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम गत जेठ १८ गते अल्पकालिन अन्तरिम आदेश दिदै बिपक्षीलाई छलफलका लागि जेठ २३ गते अदालतमा उपस्थित हुन निर्देशन दिएकी थिइन ।
उच्च अदालत तुलसीपुरले अल्पकालिन अन्तरिम आदेश जारि गर्दै बाटाको म्याद बाहेक १५ दिन भित्र बिपक्षहरुलाई उच्च सरकारी वकील कार्यालय तुलसीपुर मार्फत लिखित जवाफ पेश गर्नपनि आदेश गरेको छ ।
उच्च अदालतको आदेश लगतै बिहीबार सार्बजनिक सूचना प्रकाशित गरि स्थानीय प्रशासनले पाँच दिन पहिलेको बालुवा, गिट्टी र ढुंगा ढुवानी सम्बन्धि आफ्नो गलत निर्णय सच्चाएको हो । जसमा स्थानीय प्रशासनले अबदेखि प्रदेश ऐन अनुसार नै ढुवानी गर्न ब्यबसायीहरुलाई आग्रह समेत गरेको छ ।