
दाङ, जेठ ११ । घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्षसहितको टोलीले कोरोना सङ्क्रमितको घरमै पुगेर निःशुल्क औषधि वितरण सुरु गरेको छ ।
वडा अध्यक्ष विष्णुमणि दाहाल, जनस्वास्थ्य निरीक्षक नारायणप्रसाद न्यौपाने, त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मासहितको टोली सङ्क्रमितको घर घरमा पुगेर निःशुल्क रुपमा औषधि, सेनिटाइजर तथा मास्क वितरण गरेको छ ।
विरामीहरुको स्वास्थ्य अवस्था तथा चेकजाँच गरिएका रिपोर्ट हेरी औषधि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक न्यौपानेले बताए । हाल वडा नं. ५ मा कोरोनाका २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमित तथा सोको लक्षण देखिएका ३५ बढीलाई औषधि तथा सुरक्षा सामग्री वितरण गरिएको वडा अध्यक्ष विष्णुमणि दाहालले जानकारी दिए । वडाका नागरिकलाई घरदैलोमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए ।

‘महामारीको अवस्थामा अरुको मुख ताक्ने भन्दा पनि हामीले जे सक्छौँ त्यही कुराको अनुभूति नागरिकलाई गराउन लागेका छौँ,’ दाहालले भने ‘जटिल अवस्थाका बिरामी बाहेक अन्यको अवस्थामा हामीले सक्दो सहयोग गरेका छौँ ।’
त्रिभुवननगर जेसीजले स्थानीय सरकारसँगको समन्वयमा ग्रामीण भेगका र बिपन्न परिवारका लागि निःशुल्क औषधि वितरण अभियान सञ्चालन गरेको अध्यक्ष मुकेश्वर शर्माले बताए । त्रिभुवननगर जेसीजले खडा गरेको ‘त्रिभुवननगर जेसीज आपतकालीन कोरोना उद्धार कोष’बाट ती सामग्री उपलब्ध गराइएको हो ।
जेसीजको कोषमा आफ्ना सदस्य, विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट स्वेच्छिकरुपमा सहयोग सङ्कलन गरेको छ । अध्यक्ष शर्माले घोराही उपमहानगरपालिकाका सम्पूर्ण वडाहरुमा क्रमशः जेसीजले यो अभियानलाई अघि बढाउने जानकारी दिए ।
