
तुलसीपुर, बैशाख २२ ।तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले प्रहरी प्रशासनलाई अनुसन्धानमा सहयाोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् ।
दाङको तुलसीपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु प्रकरणका विषयमा ध्यानाकर्षन गराउन पुगेको नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नकपाको दलित मुक्ति मोर्चा दाङको टोलिसंग कुरा गर्दै नगर प्रमुख पाण्डेले अपराध पूर्णकार्य भए कारबाही हुने स्पष्ट पार्दै प्रहरीलाई अनुसन्धानमा सघाउन आग्रह गरेका हुन ।
मेयर पाण्डेले पीडित परिवार र समजाले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्न जरुरी रहेको आग्रह गरे । घटनालाई निश्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिएको बताउँदै नगर प्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने स्पष्ट पारे ।
उनले पिडित परिवारलाई प्रति व्यक्ति २५ हजारका दरले उपमहानगरपालिकाले सहयोग स्वरुप कृयाखर्च उपलब्ध गराउने बताए ।मेयरलाई घटनाबारे ध्यानाकर्षण गराउन मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्यानै भएको दाबी गर्दै हत्यारालाई पक्राउगरी सार्वजनिक नगर्दासम्म शव नउठाउने अडान लिएका थिए ।
मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले पनि नातिहरुको हत्या नै भएको दाबी गर्दै हत्यारलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।
