
कठमाडौं, बैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताएका छन् ।
‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो,’ देउवाले भने ।अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ ? नेपालमा अमेरिकी सेना? देउवाले प्रश्न गरे । अमेरिकी सेना आउँछ भनेर झुठा प्रचार गरिएको उनले बताए ।
बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट त्यो पास मात्रै गरेको सभापति देखउवाले बताए ।
एमसिसी पारित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले स्पष्ट पारे । तर उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसिसी पारित गर्न सहयोग गर्ने बताएको जानकारी दिए ।
फरक प्रशंगमा देउवाले कांग्रेसले केपी शर्मा ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको स्पष्ट पारे ।
तर उनले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको जानकारी दिए । त्यसबारे जसपासँग कुरा भइरहेको देउवाले बताए । प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पनि बहुमत नपुगिसकेको उनले स्पष्ट पारे । अविश्वास प्रस्ताव फेल भयो एक वर्षसम्म फेरि ल्याउन नपाइने भन्दै उनले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने जरुरी औंल्याए ।
अर्कौ फरक प्रशंगमा कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाए ।
सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण समुदायमा व्यापक छ भन्ने कुरा स्पष्ट भइसकेको बताए । कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चरम लापरवाही देखाएको देउवाले आरोप लगाए।
