
तुलसीपुर, वैशाख ४ । आफुले गरेको मेहनतले खेत बारीमा तरकारी फल्न थालेपछि बिद्यार्थी खुसी भएका छन् ।
तुलसीपुर मेट्रो कलेजले यतिखेर वडा नम्बर १४ मा वाख्रापालन, तरकारी खेती, चप्पल निर्माण सम्बन्धि तालिम सञ्चालन गरिरहेको छ ।
वडा नम्बर ४ मा तरकारी खेती, होटल सम्वन्धि सीप, कटाई सिलाई र मौरीपालन सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ ।

त्यसतै वडा नम्बर ८ मा व्युटिपार्लर, वुटिक,ढकिया निर्माण सम्बन्धि तालिम र वडा नम्बर ३ मा थाकलका सामग्री निर्माण, लेडिज सेन्डिल निर्माण लगायतका तालिम सञ्चालन भइरहेका छन् ।
विद्यार्थीले तालिममा सिकेको सीप व्यवबहारिक रुपमा प्रयोग गरि तरकारी फूल्न फल्न थालेपछि उत्साहित बनेका छन् ।
तुलसीपुर १४ का वडाध्यक्ष पर्शुनारायण चौधरीले विद्यार्थी खेतबारीमा आएर कृषिको काम गर्न थालेपछि स्थानीय किसानमा उत्साह थपिएको बताए ।
तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले विभिन्न सीपमुलक तालिम सञ्चालन गरेर बेरोजगारहरुलाई स्वरोजगार सृजनाको अवसर प्रदान गर्दै आएको छ ।
विभिन्न संघसंस्थाको सहयोगमा कलेजमा अहिले २ दर्जन छोटो अवधिको तालिम सञ्चालन भइरहेको कलेज प्रमुख वसन्त आचार्यले वताए ।
कलेज प्रमुख आचार्यले तुलसीपुरका सबै वडामा तालिम सञ्चालन गरिने बताए । यस अघि सञ्चालन भएका विभिन्न तालिमका सहभागीले व्यवसाय सुरु गरेको कलेजको दाबी छ ।
