नेपालगञ्ज, बैशाख २ । कोरोना भाइरसको जोखिम बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रवारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक साताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्नका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन ।
नेपालगञ्जमा पछिल्लो समय कोरोना भाइरस संक्रमण उच्च गतिमा बढ्दै गएको छ । बुधवार मात्रै बाँकेमा १ सय २३ जना नयाँ संक्रमित थपिएको जिल्ला फोकल पर्सन तेज वलीले जानकारी दिए ।
त्यही भएर उपमहानगरपालिकाले आफु मातहतका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको उपमेयर थापाले बताइन ।
बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परिक्षण तथा एन्टिजेन परिक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।
मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ ।