२०८२ बैशाख ३० गते सोमवार

वायु प्रदूषणका कारण बन्द भएका विद्यालयहरु आजदेखि खुल्दै

काठमाण्डौ,चैत २१ । वायु प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।

देशभर प्रदूषण अतिहानिकारक अवस्थामा पुगेपछि सरकारले गएको मङ्गलवारदेखि शुक्रवारसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको थियो ।

शिक्षण संस्था बन्दको निर्णयअघि मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । परिस्थितिका कारण तत्काल यस्तो निर्णय गर्नुपरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

तर वायु प्रदूषण कम हुँदै गए पनि कोरोना भाइरसको सङ्क्रमणको डर कायमै रहेकाले आवश्यक सजगता अपनाउन प्रवक्ता शर्माले आग्रह गरेका छन । उनले मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायत अतिआवश्यक मापदण्ड पालना गर्न आग्रह गरे ।

यस्तै उनले आवश्यकताका आधारमा विद्यालयमा पढाइ सञ्चालन कसरी अघि बढाउने भन्ने जिम्मेवारी पालिकाहरुमै रहेकाले उचित निर्णय गरेर अघि बढ्न आग्रह समेत गरे ।

 

 

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *