तुलसीपुर, चैत ६ । घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योग विरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । स्थानीयबासी, अधिकारकर्मी, कानुन व्यवसायीसहित २१ जना मिलेर उद्योगको प्रदुशन रोक्न वा उद्योग मानव बस्ति भन्दा बाहिर सार्न माग गर्दै मुद्दा दायर गरेका हुन ।
उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनीले स्थानीयको जीवनमा निकै नकारात्मक प्रभाव पारेको भन्दै बिहीवार २१ जनाले संयुक्त रुपमा परमादेश मागसहित सिमेन्ट उद्योग विरुद्ध रिट निवेदन दायर गरेका हुन ।
रिट दायर गर्नेहरुमा घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का स्थानीयबासीहरु भरत देवकोटा, वशन्तकुमार घिमिरे, दिलबहादुर घर्ती, शरद घिमिरे, जानका घर्ती, माधव सुवेदी, तारा आचार्य, महिला अधिकारकर्मी हुमा डिसी, साजिदा सिद्धिकी, अधिकारकर्मी विनोद केसी, बरिष्ठ अधिबक्ता कुमार श्रेष्ठ, अधिबक्ता मौसम आचार्य लगाएतका छन् ।
उद्योग विरुद्ध रिट हाल्नेहरु खाद्य अधिकार सञ्जाल, फियान नेपाल, इन्शेक, एफडब्लु एलइडी,आइएस आरसी, उच्च अदालत बार एसोसियसन नेपालगञ्जमा आवद्ध ब्यक्तिहरु हुन ।
रिटमा मानव बस्ति बीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरहरुमा सिमेन्ट मात्रै जम्मा हुने गरेको, ध्वनी पर्दुशनले रातमा पनि सुत्न मुस्किल पर्न थालेको भन्दै सम्मान पूर्वक बाँच्न पाउनु पर्ने माग दाबी उनीहरुले गरेका छन् ।
जिल्ला स्थित कृषि केन्द्र र स्वास्थ्य कार्यालयहरुले पनि हालसालै मानव बस्ति बीचको सिमेन्ट उद्योगका कारण कृषि र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव परेको रिपोर्ट सार्वजनिक गरेका छन् ।
दायर रिट उपर शुक्रवार नै बहस पैरबी हुन लागेको उच्च अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।
दाङमा हाल घोराहीमा सगरमाथा, तुलसीपुरमा सोना र लमहीमा सम्राट सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । यी तीन मध्य सबै भन्दा ठूलो सिमेन्ट उद्योग सगरमाथा हो । जस्ले दैनिक दूई हजार टन सिमेन्ट उत्पादन गर्दै आएको सगरमाथा सिमेन्टका एक कर्मचारी अमर सुवेदीले जानकारी दिए ।