२०८१ माघ ९ गते बुधवार

हरेक मोर्चामा सरकार असफलः देउवा

काठमाडौँ, मंसिर २९ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार हरेक मोर्चामा असफल भइसकेको बताएका छन् । शनिबारदेखि काठमाडौँमा शुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यो सरकारबाट केही आशा गर्न नसकिने दाबी गरे । संघीयता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको दाबी गर्दै सभापति देउवाले वर्तमान सरकारले नागरिकलाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको बताए ।

बुढी गण्डकी आयोजना निर्माणको जिम्मा विना प्रतिस्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै त्यसविरुद्ध सशक्त प्रतिकारमा उत्रन उनले काँग्रेसका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘केपी ओली नेतृत्वको सरकारले जनतालाई महंगी र भ्रष्टाचार मात्रै उपहार दिएको छ,’ देउवाले भने ‘पार्टीका नेता कार्यकर्तालाई ओलीका गलत कामका विरुद्धमा खुलेरै बोल्न नडराउनु होस् ।’ त्यस्तै उनले आफूविरुद्ध जति पनि बोल्ने तर सरकारविरुद्ध कोही नबोलेको भन्दै ओली विरोधमा उत्रन आग्रह गरे । ‘मेरा विरुद्ध जति पनि बोल्नेले सरकारका विरुद्ध किन माधव नेपाल जति बोल्दैनन् ?’ सभापति देउवाले भने । पार्टीलाई अनुशासित र एकतावद्ध बनाउन महासमिति बैठक सफल हुने देउवाले आशा व्यक्त गरे ।

निर्मला पन्तका हत्यारालाई सरकारले संरक्षण गरेको आरोप

त्यस्तै देउवाले कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गराउन नसकेको तथा सरकार स्वयंम् निर्मला पन्तको हत्यारा बचाउन लागि परेको सभापति देउवाको दाबी गरे । देशभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको देउवाले बताए । त्यस्तै उनले बुढीगण्डकी जलविद्युत आयोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई दिने सरकारी निर्णयको पनि देउवाले विरोध गरे ।

महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा देशभर सरकारका क्रियाकलापविरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा देउवाले जोड दिएका छन् । देशका ठूला राजनीतिक परिर्वतनमा नेपाली काँग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै देउवाले आन्तरिक द्वन्द्वका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको उल्लेख गरे । पार्टीभित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टीकै आन्तरिक कारण र आन्तरिक द्वन्द्वले उम्मेदवारहरु पराजित हुनुपरेको उनले बताए ।

पार्टीभित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः काँग्रेसलाई एक नम्बरको पार्टीमा स्थापित गराउने देउवाले विश्वास व्यक्त गरे । ‘पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व सचेत रहेको छ,’ सभापति देउवाले भने ‘हिजो गणेशमान र किसुनजीली जस्तो पार्टी छोड्न दिन कसैलाई नआओस् ।’ महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास उनले व्यक्त गरे ।

दुई तिहार सरकारले केही गर्न सकेन– बरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई झुटो आश्वासन बाँडेर बनेको दुई तिहाइ सरकारले केही गर्न नसकेको बताएका छन् । वर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार चरम रूपमा बढेको बताउँदै वाइड वडी विमान खरिद प्रकरण र सुनकाण्ड बारेमा भईरहेका अनुसन्धानप्रति सरकारको ध्यानाकर्षण गराए । सुशासनको लागि यो देशमा पहिले प्रधानमन्त्री नै सुध्रनु पर्ने बताए । त्यस्तै उनले नेपाली काँग्रेस बलियो र एक नभएसम्म यो मुलुक बन्न नसक्ने बताएका उनले पार्टीभित्र साझेदारीको भावना भए मात्र यसले समझदारी र एकताको भावना उजागर गर्ने धारण व्यक्त गरे ।

‘समृद्ध नेपाल सुखी नेपाली’को सपनालाई साकार गर्नका लागि नेपाली जनताले काँग्रेसलाई पर्खेको पौडेलले बताए । उनले आफूले कहिले पनि पार्टीलाई जोखिममा राखेर आफ्नो स्वार्थ पूरा हुने काम नगरेको बताए । नेता पौडेलले काँग्रेसले वीपीको बाटो कहिले नछोडेको बताए ।

देउवा र पौडेल एक भएर अगाडि बढ्नु पर्छ – गच्छदार

काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले पार्टी कमजोर हुँदाको पिडीलाई सम्झदै सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडललाई एक भएर अगाडि बढ्न आग्रह गरेका छन् । उपसभापति गच्छदारले काँग्रेस कमजोर भएको बेला २०५६ सालमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा जसरी घोषणा गरेर जनता माझ गएका थिए त्यसैगरी अगाडि बढ्न सुझाव दिए ।

पार्टीभित्र आन्तरिक किचलो हुँदा गएको संविधानसभा र स्थानीय निर्वाचनमा पराजय भोग्नु परेको उल्लेख गर्दै नेता गच्छादारले सभापति देउवा र बरिष्ठ नेता पौडेललाई आगामी दिनमा एक भएर अघि बढ्ने प्रण गर्न आग्रह गरेपछि दुबै नेता उठेर हात मिलाएका थिए ।

नेपाली काँग्रेसको महासमितिको बैठकमा नृत्य प्रस्तुत गर्दै कलाकार ।


गल्ती सच्चाउँदै एक भएर अगाडि नेताहरुको जोड

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले संविधानका कतिपय विषयहरु गम्भीर रहेको बताएका छन् । महामन्त्री कोइरालाले सनातन धर्मप्रति आक्रमण भइरहेको धारणा राख्दै धर्मान्तरको विषयले आफूलाई गम्भीर बनाएको उल्लेख गरे । नेपाली काँग्रेस पार्टीको झण्डाका चार तारमध्ये एउटा धार्मिक स्वतन्त्रताको प्रतिक रहेको बताउँदै कोइरालाले सनातन धर्ममाथि भइरहेको आक्रमणप्रति रोष व्यक्त गरे ।

महामन्त्री कोइरालाले पार्टीभित्र कसिलो एकताको आवश्यकतामा जोड दिए । ‘सभापतिज्यू, र वरिष्ठ नेताज्यू, तपाईहरु मेरो नेता हुनुहुन्छ, एकताका लागि तागत लगाउनुस् सहयोग गर्न तयार छु,’ उनले भने । नेता एवं पूर्व सहमहामन्त्री रामशरण महतले पार्टीमा व्यक्तिवादी र गुटवादी प्रवृत्तिबाट माथि उठ्नुपर्ने बताए । हिजोको गल्ती सच्याएर पार्टीलाई एक बनाउनुपर्ने उनको जोड थियो ।

नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनपछिको एकवर्ष अलमलिएर बितेकोमा अब त्यसो हुन नहुने बताए । उनले क्रियाशील सदस्यताको विवाद तल्लै तलमा मिलाउनुपर्ने र तल्ला निकायलाई जिम्मेवार र पारदर्शी बनाउनुपर्ने पनि राय दिए । महासमिति बैठकबाट आफैंले आफूलाई सुधार्नुपर्ने र सिंगो नेपाल हाक्ने पार्टी बन्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

पूर्व उपसभापति प्रकाशमान सिंहले विगतका उपलब्धि, कमीकमजोरी र प्राथमिकताको स्पष्ट रेखा कोरेर आगामी दिनका बाटालाई स्पष्ट पार्दै अगाडि बढ्नु पर्ने बताए । उनले आगामी दिनमा जनताको आवाजलाई केन्द्रविन्दुमा राखेर पार्टी अगाडि बढ्नुपर्ने सुझाए । विधानका भावना र मर्मलाई हरेक समितिले पालना गराउन संयन्त्र विकास गर्नुपर्ने उनको सुझाव थियो ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्य नारा रहेको महासमिति बैठक आगामी पुस ३ गतेसम्म चल्नेछ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको काँग्रेसले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई आदर्शका रुपमा अघि सार्दै आएको छ । काँग्रेसको यो महासमिति बैठकलाई अन्य राजनीतिक दलले पनि निकै चासोका साथ हेरेका छन् । पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्र चल्नेछ ।

२०७२ सालमा सम्पन्न पाटीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । पार्टीको महाधिवेशनपछिको सर्वाेच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान बनाउने काँग्रेसजनको अपेक्षा छ । बैठक उद्घाटन समारोहमा बोल्ने नेताहरुले सबैलाई एकजुट हुन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *