तुलसीपुर,फागुन ६ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कमजोर विद्यार्थीहरुलाई नजिकबाट ननियाल्दासम्म शैक्षिक गुणस्तरमा सुधार आउन नसक्ने बताएका छन् ।
शिक्षा युवा तथा खेलकुद महाशाखा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा बिहिवार तुलसीपुरमा भएको तुलसीपुर असर प्रतिवेदन २०७६ सार्वजनिक तथा एकीकृत शिक्षा सुधार परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले त्यस्तो बताएका हुन ।
पछिल्लो समय नीजि भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपस्थिती हुने दर बढ्दो क्रममा रहेको बताउँदै मुख्य मन्त्रीले उपस्थिती दर बढाउन विद्यार्थीका परिवारलाई विद्यालयसगं जोडेर लैजानुपर्ने तर्क गरे ।
नीजि भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपस्थिति दर धेरै देखियो,पोख्रलले भने,–सायद चेतना र लगानीको कमिले पनि हुनसक्छ, अबसामुदायिक विद्यालयका अभिभावकलाई पनि विद्यालयसगं जोडेर लैजान जरुरी देखिन्छ ।’
उनले सिकाईका लागि विद्यालयमा पढ्ने बातावरण राम्रो हुनुपर्नेमा जोड दिए । यसका लागि विद्यालयको कक्षाकोठा सगंसंगै शौचालय पनि ब्यबस्थित बनाउनुपर्ने उनको भनाई छ ।
‘नीजि र सामुदायिक विद्यालयको तथ्याङ्क हेर्दा अहिले पनि नीजि विद्यालयमा पढ्ने विद्यार्थीको सख्या दोब्बर छ,’ उनले भने,–‘यसमा मुख्य कमजोरी सामुदायिक विद्यालयका शिक्षकहरुकै हो ।’
शिक्षकले आफ्ना छोराछोरीलाई नीजि विद्यालयमा पढाएर सामुदायीक विद्यालयमा अविश्वास खडा गराइदिएको उनले बताए ।
शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षकहरूको दृष्टि परिवर्तन गर्न जरुरी रहेको मुख्यमन्त्री पोख्रेलके भनाइ छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजाता शाक्यले अझैपनि दलित छात्राहरुमा सिकाइको अबस्था न्यून रहेको भन्दै सिकाईका लागि उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताइन ।
राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देवराज विश्वकर्माले जबसम्म शिक्षा सुधार हुन सक्दैन तबसम्म मुलुक परिवर्तन गर्न कठिन हुने धारणा राखे ।
तुलसीपुर शिक्षा समिति सदस्य प्रकाश शर्माले समग्र तुलसीपुरको शैक्षिक सुधारका लागि नीजि र सामुदायिक विद्यालयको सहकार्य आवश्यक रहेको बताए ।
गुरु जजुर माबि रक्षाचौरका प्रध्यानाध्यापक विष्णुकुमारी केसीले अधिकांश विद्यालयहरुमा अझै पनि भौतिक अवस्था नाजुक रहेको र मुख्य समस्या शौचालयको रहेको बताइन । सेन्टर मावि तुलसीपुरका प्रध्यानाध्यापक भागवत पौडेलले अझै पनि सामुदायीक विद्यालयमा भौतिक अवस्था बालमैत्री नभएको बताए ।
गोरखा मावि तुलसीपुरका प्रध्यानाध्यापक विजय जिएमले समग्र तुलसीपुरको शैक्षिक गुणस्तरको अवस्था नाजुक रहेको औंल्याए । तुलसीपुरका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष रामप्रसाद चालिसे लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।