दाङ, फागुन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक कार्यकर्ताले व्यक्तिगत रुपमा आफुलाई आमा चाकरी गाली गरेको भन्दै दूई जना नेपाली काँग्रेसका कार्यकर्ता बिरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
सोमवार नेपाली काँग्रेसले प्यूठानको खलंगामा आयोजना गरेको बिरोध सभामा जान खोजेका व्यक्तिहरुले आफुलाई व्यक्तिगत रुपमा आमा चकारी गाली गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता डोरबहादुर पुनले प्रहरीमा किटानी दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लका अनुसार माण्डबी गाउँपालिका वडा नं. ३ का अन्दाजी ४५ बर्षीय पुनले आफुलाई बस भित्रैबाट स्वर्गद्धारी नगरपालिका वडा नं. ९ का २९ बर्षीय पुनाराम खत्री र ३२ बर्षीय सागर घर्तीले आमा चकारी गाली गलौज गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
‘पुनले आफुलाई दूई जनाले व्यक्तिगत रुपमा आमा चकारी गाली गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिनु भएको छ,’ डिएसपी मल्लले भने ‘ त्यही जाहेरीका आधारमा प्रहरीले सोमबार नै खत्री र घर्तीलाई सोधपुछका लागि ल्याएको थियो ।’ उनीहरु दुबै जनालाई सोधपुछ पछि सोमबारनै छोडिएको मल्लले बताए ।
नेकपा पुनले व्यक्तिगत रुपमा आफुलाई गाली गलौज गरेको भनि किटानी जाहेरी दिएका काँग्रेसका खत्री र घर्तीले सोधपुछका क्रममा प्रहरी समक्ष आफुहरुले कुनैपनि व्यक्तिलाई व्यक्तिगत रुपमा त्यस्तो गाली गलौज नगरेको बताएका छन् ।
डिएसपी मल्लले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय भिङग्रीमा मंगलबारपनि छलफल गरि मिलाउने प्रयास भएपनि दुबै पक्ष आ–आफ्नो अडानमा अडिक रहेको हुँदा मिलापत्र हुन नसकेको एक प्रहरी अधिकारीले बताए ।
‘ आरोपितहरुले हामीले कसैलाई गाली गरेकै हैनौं भनेर दाबी गर्छन,’ ती प्रहरी अधिकारीले भने ‘ अर्कौ तर्फ जाहेरीवाला आफुलाई व्यक्तिगत रुपमा आमा चकारी गाली भएको दाबी गरिरहेका छन् ।’
एक पक्षले बस भित्रैबाट व्यक्तिगत रुपमा गाली गलौज गरेको अभियोग लगाएको भएपनि आरोपितले त्यो स्वीकार्न तयार नरहेको हुँदा कुरा मिल्न नसकेको उनले बताए ।
अभियोग लगाइए अनुसार खत्री र घर्तीले पुनलाई व्यक्तिगत गाली गलौज गरेका हुन कि हैनन् ? भनेर थप अनुसन्धान गर्नुपर्ने अवस्था सृजना भएको ती प्रहरी अधिकारीले बताए ।