तुलसीपुर , माघ ३० । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नको लागि शनिबार निर्वाचन हुँदैछ । निर्वाचन संयोजक प्रबिण लम्सालले तुलसीपुर बजारस्थित संघको भवनमा शनिवार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए ।
संघको नेतृत्व चुन्न कुल १ हजार ८ सय ८ जना मतदाताले मताधिकार पाएका छन् । प्रचार प्रशार गर्ने अन्तिम दिन शुक्रबार बेलुका अबेरसम्म मतदाता र तीनका समर्थकहरु दलबलका साथ मतमाग्न गएको देखिन्थ्यो । व्यापारीको चुनाबी अभियान संसदीय निर्वाचनको झझल्को दिने खाले थियो ।गाडीहरु अघि पछि र समर्थकहरु गीत संगीतको तालमा भोट माग्दै हिडेको दृष्य देखिएको थियो ।
संघको नेतृत्वका लागि नेपाली काँग्रेस समर्थित प्रजातान्त्रिक प्यानलको नेतृत्व टेकनप्रशाद बस्नेत (हिमाल) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निटक बामपन्थी प्यानलको नेतृत्व रामप्रशाद चालिसेले गरेका छन् ।बिभाजन उन्मुख नेकपाले यहाँ भने एकताबद्ध भएर बामपन्थी उम्मेदवार प्रस्तुत गरेको छ ।
संघको १७ सदस्यीय पदाधिकारीका लागि ४१ जना चुनाबी प्रतिपर्धामा उत्रिएका छन् । कोषाध्यक्ष, महासचिव लगाए सदस्यपदहरुमा स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिपर्धामा उत्रिएका छन् ।ब्यापारीको निर्वाचन भएपनि जिल्लाका प्रमुख दलका नेताहरु भोटमाग्दै घरदैलो गरिरहेको देखिन्थ्यो ।
तुलसीपुरमा शुक्रवार बिहानै देखि नेपाली काँग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्का, पूर्व सभापति तथा सांसद गेहेन्द्र गिरी, पूर्व सभापति घनश्याम रेग्मी, संविधानसभा सदस्य बुद्धिराम भण्डारी, प्रदेशसभा सदस्यहरु डिल्लीबहादुर चौधरी र शंकर गिरी, नेता केशब आचार्य, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युवराज खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीकाराम घर्ती प्रजातान्त्रिक प्यानलको पक्षमा भोट माग्दै हिडेका थिए ।
त्यस्तै नेकपा समर्थित बामपन्थी प्यानललाई बिजयी बनाउन नेकपा दाङका अध्यक्ष तथा प्रचण्ड–नेपाल समुहका नेता टिकाराम खड्का, सोही समुहका बिघठित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा प्रधानमन्त्री केपी शर्मा ओली समुहका घनश्याम पाण्डे र उनीहहरुका भातृ संगठनहरु सडकमै उत्रिएर भोट माग्दै हिडेका थिए ।
नेपाली काँग्रेस र नेकपा जस्ता प्रमुख दलहरुले ब्यापारीको नेतृत्व चयनलाई आफ्नो प्रतिष्ठाको लडाई जस्तै बनाएको देखिएको छ ।हालसम्म तुलसीपुर उद्योग बाणिज्य संघमा प्रजातान्त्रिक प्यानलकै बर्चश्व रहँदै आएको छ । तर, प्रमुख दलका जिल्ला तहका शिर्ष नेताहरु नै भोट माग्दै घर दैलो गरिरहँदा परिनाम कस्को पक्षमा आउँछ ? त्यो भन्न सहज छैन । त्यसको लागि फागुन २ गते बिहानीको प्रतिक्षा गर्नु पर्ने भएको छ ।
सबै तस्विरहरु – शरद रेग्मी