तुलसीपुर, २८ माघ । तुलसीपुर उद्योग बाणिज्य संघ भित्र प्रबल प्रतिपर्धि मानिएका नेपाली काँग्रेसका अनुपकुमार श्रेष्ठ (रामु)ले उम्मेदवारी फिर्ता लिएपछि अब टेकनप्रशाद बस्नेत (हिमाल)लाई निर्वाचित हुन सहज भएको दाबी सुरु भएको छ ।
काँग्रेस टिकेट नदिएपछि श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएको भएपनि काँग्रेस नेता र ब्यापारी नेताहरुको आग्रह पछि उनले बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि बस्नेतलाई जितका लागि मार्ग प्रशस्त भएको बिश्लेशन हुन थालेको हो ।
‘ मैले ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको जित सुनिश्चित गर्नको लागि मेरो उम्मेदवारी फिर्ता लिएको हुँ,’ श्रेष्ठले भने ‘अब म लगाएत सम्पूर्ण ब्यबसायी हिमाल बस्नेतलाई जिताउन खटिने छौं ।’ श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अब तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि नेपाली कांग्रेसका टेकनप्रसाद बस्नेत (हिमाल) र नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फवाट रामप्रसाद चालिसेका बीचमा प्रतिपर्धा हुने भएको छ ।
बस्नेत संघको पूर्व अध्यक्ष हुन भने चालिसे हालका बरिष्ठ उपाध्यक्ष हुन । संघको नयाँ नेतृत्व चुन्नका लागि फागुन १ गते निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि १ हजार ८ सय ६ जना मतदाताले मतदान गर्ने छन् । जसमध्य झन्डै १ हजार २ सय बढी मतदाताहरु काँग्रेस निकट रहेको दाबी काँग्रेस निकटका ब्यबसायीहरुले गर्दै आएका छन् ।