काठमाडौं,माघ २१ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।
बिहीवार आमहड्तालका क्रममा अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने जानकारी दिइएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उक्त समूहकी नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थिति आएकाले बिहीवार आमहड्ताल घोषणा गर्नु परेको बताइन ।
उनले बिहान मिर्मिरेमै संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाउने नाटक भएको भन्दै असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा भएको बताइन ।
भुसालले भनिन् ‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छाै। देशव्यापी आमहड्तालको आह्वान गरेका छौं।’
नेतृ भुसालले अब आफुहरु प्रतिगमन खारेजीका लागि जस्तोसुकै कदम चाल्नपनि बाध्य हुने चेतावनी दिइन ।