दाङ,माघ १६ । गाँजा सेवन गरि रहेका युवालाई रोक्न खोज्दा बाँकेको राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचकको हत्या भएको तथ्य प्रहरीले उजागर गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १८ बस्ने राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापा मगरको माघ २ गते बिहान हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
टाउको र अनुहारमा चोट लागेको अवस्थामा घरभन्दा साढे दुई किलोमिटर टाढा खेतमा प्रवीणको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको र त्यसक्रममा उनको हत्या गाँजा सेवन कर्तालाई रोक्न खोज्दा हत्या भएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले बताए ।
‘ बेलुका युवाहरुले गाँजा खाएर बसेको देखेपछि प्रबीणले गँजा नखाने भनेर हस्तक्षप गरेपछि उनीहरुको बीचमा झगडा भएको देखिन्छ,’ ती प्रहरी अधिकारीले भने ‘ त्यही बीचमा दाउराको किलोले टाउको तथा अनुहारमा आक्रमण गरि हत्या गरेको खुल्न आएको छ ।’
प्रहरी अधिकारीका अनुसार गाँजा खाने युवा र प्रबीणको बीचमा चिनजान नभएको र झगडाका क्रममा चार जनाले किलोले हिर्काएर हत्या गरेको देखिएको छ ।
प्रबीणको हत्या पछि उनीहरु फरार भएका थिए।
उनको हत्यामा सम्लग्न भएको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा निवासी १८ वर्षीय बिवेक परियार भक्तपुर चाँगुनारायण नगरपालिका ९ ताथलीबाट पक्राउ परेका छन् ।
त्यस्तै नेपालगञ्जबाट अर्का युवा सुवास थापापनि पक्राउ परेको प्रहरीले बताएको छ ।
प्रबीणको हत्यामा सम्लग्न थप दूई जना भने फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।