काठमाडौं, माघ ९। आज नेकपा (प्रचण्ड–माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । संसद विघटन असंवैधानिक भन्दै आन्दोलन गरिरहेको नेकपा (प्रचण्ड–माधव) समूहले काठमाडौंमा एक लाख बढी कार्यकर्ता उतार्ने समूहले दाबी गरेको छ ।चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।
काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ ।
काठमाडौंका बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ । सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जुलुसमा सहभागीहरुलाई पार्टीले तोकेका नारामात्र लगाउन निर्देशन दिइएको छ । प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी रहने जनाएको छ ।