तुलसीपुर, माघ ७ । नागरिक समाज दाङले तुलसीपुर–घोराही सडक खण्ड फोरलेन निर्माण गर्ने क्रममा भएको बिलम्ब प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार बसेको समाजको बैठकले तुलसीपुर–घोराही सडक खण्ड निर्माणका क्रममा खाल्टाखुल्टी परेको, अत्यधिक धूलो भएर आवागमनमा निकै कठिनाई भएको तर्फ नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको बैठक पछि सचिव लक्ष्मी आचार्यले जारी गरेको बक्तब्यमा उल्लेख छ ।
समाजले सडक निर्माण कार्यलाई अबिलम्ब गति दिन र आवागमनलाई सहज बनाउन सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेको छ । समाजका जिल्ला संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा बसेको बैठकले मध्याबधि निर्वाचन घोषणा पछि मुलुकमा नयाँ परिस्थिति सृजना भइ राजनीतिक पार्टीहरुका बीचमा तीब्र मतान्तर भइरहेको भन्दै सबै पक्षलाई उच्च राजनीतिक संस्कृतिको पालना गर्न आग्रह पनि गरेको छ ।
शान्तिपूर्ण तरिकाले आफ्ना गतिबिधि सञ्चालन गर्न समाजले आग्रह गरेको छ । बैठकले समाजको अधिबेशन फागुन २२ गते घोराहीमा गर्ने निर्णय पनि गरेको छ । त्यसमा लागि समाजका सबै सदस्यहरुलाई फागुन १५ गते भित्र सदस्यता नविकरण गरिसक्न अनुरोध गरिएको छ ।