तुलसीपुर, माघ ४ । तुलसीपुर खाने उपभोक्ता तथा सरसफाई संस्थाले मंसिर महिना सम्मको महशुल बुझाएका उपभोक्ताले मात्रै मतदानको अधिकार पाउने बताएको छ । संस्थाका उपाध्यक्ष गिरिधारी प्रशाद उपाध्यायले आइतवार सार्वजनिक सूचना मार्फत संस्थाको आगामी निर्वाचनमा भाग लिन चाहाने मतदाताले अनिवार्य रुपमा मंसिर सम्मको बक्यौता बुझाउनु पर्ने जानकारी दिएका छन् ।
आगामी तीन बर्ष कार्यकालका लागि नयाँ नेतृत्व चुन्न हुने निर्वाचनमा सहभागी हुन चाहाने उपभोक्ताले माघ २० गते सम्म अनिवार्य रुपमा मंसिर महिना सम्मको बाँकी बक्यौता बुझाइ सकेको हुनुपर्ने जारी सूचनामा उल्लेख छ । निर्धारित समय सीमा भित्र बक्यौता नबुझाउने उपभोक्ताको नाम मतदाता नामाबलीमा समाबेश नगरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
नयाँ नेतृत्व चुन्ने पक्रिया नयाँ बर्षको सुरुवातमै हुनुपर्ने भएपनि कोरोना भाइरसको महामारीका कारण अधिवेशनमा बिलम्ब हुँदै आएको छ । अब हुने निर्वाचनले २०७७ देखि २०८० सम्मका लागि नयाँ नेतृत्व चयन गर्ने छ । तुलसीपुर खाने पानीमा झन्डै ८ हजारको हाराहारीमा उपभोक्ता पुगेको जानकारहरु बताउँछन् ।