तुलसीपुर, पुस २६ । तुलसीपुरका व्यवसायी अनुपकुमार श्रेष्ठ (रामु)ले तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष बन्ने पालो आफ्नो भएको बताएका छन् ।
फरककोण संगको सम्वादतमा व्यवसायी श्रेष्ठले हालसम्म आफुले अरु धेरै साथीहरुलाई संघको नेतृत्वमा पु¥याउन सहयोग गरेको भन्दै यसपटक तीनै साथीहरुले आफुलाई सहयोग गरेर अध्यक्षमा निर्वाचित गर्ने दाबी गरेका हुन ।श्रेष्ठ चिरिञ्जिबी रिजालको पालामा संघको कोषाध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन । ‘म लामो समय साथीहरुका लागि त्याग गर्दै आए र यस पटक सबैले मलाई चुनेर सहयोग गर्ने छन् भन्ने विश्वास लिएको छु,’ उनले भने ।
उनले आफु तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष भएमा व्यबसायमा चरम राजनीतिक अतिक्रमण हुने नदिने, रुष्ट व्यापारीहरुलाई उद्योग बाणिज्य संघमा सामेल गराउन प्राथमिकताका साथ लाग्ने, अब्यबस्थित व्यापार व्यबस्थित बनाउन भूमिका खेल्ने जस्ता प्रतिबद्धताहरु व्यक्त गरे ।
त्यस्तै उनले तुलसीपुर बजार समसाँझै बन्द नहुने वातावरण निर्माण गर्न जरुरी रहेको भन्दै त्यसका लागि यातायात र सुरक्षाको राम्रो प्रवन्ध मिलाउन संघको तर्फवाट भूमिका खेल्ने बताए । ‘ तुलसीपुरको बजार विहान ४ बजे नै खुल्ने र बेलुका ६ बजे नै बन्द हुने गरेको छ,’ उनले थपे ‘ यसरी त कहिलै पनि तुलसीपुरको अपेक्षाकृत रुपमा विकाश हुन सक्दैन ।’उनले स्थानीय प्रहरी प्रशासन र सरकारले सुरक्षा प्रवन्ध मिलाए बजार रात्रिकालिन व्यबसाय सञ्चालन गर्न कुनै कठिनाई नभएको तर्क गरे ।
त्यस्तै उनले तुलसीपुरमा कम्तिमा पनि थ्री स्टार लेभलको होटल खोल्न अति नै आवश्यक रहेको बताए ।‘तुलसीपुर आएका पाहुनाहरु पनि घोराही वा नेपालगञ्ज बास बस्न जाने गरेको पाइन्छ,’ उनले अगाडि भने ‘ कम्तिमा पनि तुलसीपुरमा थ्री स्टार लेभलको होटेल भएमा त्यस्ता भिआइपी÷ भिभीआइपी र सेलीब्रेटीहरु यही बास बस्ने वातावरण बन्ने थियो ।’
माघ अन्तिम सातामा अधिवेशन र फागुन १ गतेका दिन तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनको मिति घोषणा भए संगै विभिन्न व्यक्तिहरुले नेतृत्वमा दाबीहरु गर्न थालेका छन् । त्यो दौडमा उत्रिएका मध्य श्रेष्ठपनि संभावित एक बलियो उम्मेदवारका रुपमा हेरिएका व्यक्ति हुन । तर, उनले सकभर सर्वसहमतिबाट नेतृत्व चयन गरिनु पर्ने बताए ।
निर्वाचनमा पक्ष विपक्ष भएर होमिदा त्यसले मन मुटाव सृजना हुने हुँदा यसपालि सबैको सल्लाहमा सर्वसहमतिमा नेतृत्व चयन हुने उनको विश्वास छ । तुलसीपुरमा अरुण बस्त्रालय र बिण्णु चलचित्र मन्दिर सञ्चालन गर्दै आएका श्रेष्ठ एक सालिन व्यवसायी मानिन्छन् ।