२०८२ असार २७ गते शनिवार

ओलीले आफ्नो सत्ता गुम्ने खतरा देखेपछि संसद नै विघटन गरे – चित्रबहादुर केसी

घोराही, पुस २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हातबाट सत्ता गुम्ने खतरा देखेपछि असंबैधानिक रुपमा संसद नै विघटन गरेको बताएका छन् । वर्तमान सरकारको असंवैधानिक कदम, संघीयता र भ्रष्ट्राचारको विरोधमा राष्ट्रिय जनमोर्चा दाङले बिहीवार घोराहीमा आयोजना गरेका विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष केसीले जनताबाट बहुमत प्राप्त दलले जनताको समस्या समाधान गर्न छलफल गरेको भए अहिलेको परिस्थिति उत्पन्न नहुने तर्क गरे ।

‘तर, सत्तासिनहरु जनताका समस्या समाधान भन्दा नेताहरु सत्ताका लागि विवाद गर्न ले,’–केसीले भने–‘प्रधानमन्त्री ओलीले आफ्नो हातबाट सत्ता गुम्ने खतरा देखेपछि संसद नै विघटन गरिदिए । जुन संविधान विपरितको कदम हो ।’

ओलीले पार्टी भित्रको बिवाद मिलाउनुको सट्टा संसद विघटन गरेर देशलाई संकटमा फसाउने काम गरेको भन्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले रोष प्रकट गरे ।

जनताको बहुमत प्राप्त गरेर सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको दलमा देश र जनताका समस्या समाधान गर्नेभन्दा पनि कस्ले सत्ता चलाउने र आफ्ना मान्छेलाई नियुक्त गर्ने भन्ने विवाद नमिल्दा देशलाई नै संकटमा पार्ने काम भएको उनले बताए ।

‘नेकपा भित्रको सत्तास्वर्थको उपर्दौका कारण देश संकटमा पर्ने अवस्था आएको छ,’ उनले भने ‘ जनताका समस्या समाधान गर्नेभन्दा पनि सत्ता स्वार्थको लडाईमा नेताहरु लाग्दा जनताको उपलब्धि गुम्ने खतरा रहेको छ।’

उनले बर्तमान प्रधानमन्त्री र संविधानको संरक्षक राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गर्ने काम गरेको बताए । उनले प्रधानमन्त्रीले संविधानमै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेको बताए ।

अध्यक्ष केसीले विगतमा पटक÷पटक बहुमत प्राप्त गरेका सरकारहरु ढाल्ने काम प्रधानमन्त्रीबाटै भएकाले पछिल्लो पटक २०७२ सालमा संविधान निर्माण गर्दा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने गरि कानुन निर्माण गरिएको भएपनि ओलीले भारतको इशारामा संसद विघटन गरेको आरोप लगाए ।

उनले संसद पुनःस्थापना गरेर देशलाई आर्थिक भारबाट जोगाउन समेत प्रधानमनन्त्रीसंग आग्रह गरे । संघीयताको विरोध गरेका अध्यक्ष केसीले गणतन्त्र कमजोर भएको बहानामा देशलाई राजतन्त्र र हिन्दु राष्ट्रमा फर्कन नसकिने बताए । उनले हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा भएको आन्दोलन कुनैपनि हालतमा सफल नहुने ठोकुवा गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले हिलेको आवश्यकता जनताको त्याग र बलिदानीबाट प्राप्त भएको उपलब्धि कार्यान्वयन गर्ने भएपनि सरकारबाटै संसद विघटन गरेर सविधानको घाटी निमोठ्ने काम भएको तर्क गरे ।

नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले देशलाई संकटबाट बचाउन असंवैधानिक कदमलाई सच्याउँदै विघटित संसद पुनःस्थापनाको गर्नुपर्ने माग गरे । बक्ताहरुले अहिलेको सरकारले भ्रष्ट्रचारीहरुको संरक्षण गरेर देशमा भष्ट्राचारलाई सस्थागत गर्ने काम गरेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *