देउखुरी, पुस २३ । दाङको राप्ती गाउँपालिकाका जनप्रतिनिधिलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे प्रशिक्षण दिइएको छ । आगामी दिनमा हुने गाउँसभा सञ्चालन तथा निर्णयार्थ सहयोग पुगोस भन्ने उदेश्यका साथ सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे अन्तरक्रिया गरिएको हो ।
लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संबैधानिक मामिला महाशाखाको आयोजनामा गाउँपालिकाका सभा सदस्यलाई सभा सञ्चालन र कानुन निर्माण प्रक्रिया बारे जानकारी दिइएको हो ।
कार्यक्रममा अधिबेशन आह्वान प्रक्रिया, अधिबेशन अन्त्य, बैठकमा उपस्थित गणपुरक संख्या, बैठकको प्रारम्भ र स्थगन, सदस्यको स्थान रिक्त रहेको अवस्थामा सभाको कार्य सञ्चालन, दैनिक कार्यसूचि, कार्य ब्यवस्था परामर्श समिति, समयावधि निर्धारण र सूचना, बैठकमा पालना गर्नु पर्ने कुराहरु, बैठकमा छलफल गर्न नपाईने विषय बस्तु, बैठकमा बोल्न र उत्तर दिने तौरतरिका, स्पष्टिकरण माग गर्ने वा दिने अवस्था, नियमापत्ति, निर्णय गर्ने तरिका, मत विभाजन र संकलन जस्ता कुराहरु सिकाइएको हो ।
अध्यक्षको विशेष अधिकारहरु, कार्वाही फिर्ता हुने अवस्था, बैठक स्थगित गर्ने अधिकार र प्रस्ताव तथा तत्सम्वन्धि कार्यविधिका बारेमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन तथा संबैधानिक मामिला महाशाखाका सचिव राजेन्द्र थापाले अबगत गराएका थिए ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा गाउँ सभाको कानुन निर्माण सम्बन्धि प्रक्रियाका बारेमा समेत प्रशिक्षण दिइएको थियो ।